कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव

चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् ।कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन अवसाद जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् ।

चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक चिन्ता लाग्ने, एक्लै बस्न मन लाग्ने, भित्री मन खुसी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन् ।

यस्तै शरीर झमझमाउने, टाउको दुख्ने, घाँटीमा अड्किए जस्तो हुने, शरीर अप्ठ्यारो महसुस हुने, कोरोना भाइरस लागे जस्तो भान हुनेलगायतका समस्या लिएर मानिसहरु उपचारका लागि आउन थालेको उनले जनाकारी दिए । कतिपय मानिस मनमा तनाव हुनाले मदिरा सेवन गर्ने तथा दुव्र्यसनीमा फस्ने खतरा बढ्ने उनको भनाइ छ ।

मानसिक रोगबाट बच्न एउटै कुरामा गहिरिएर नसोच्ने, मनको कुरा अरुलाई भन्ने बानी गर्दा पनि तनावमुक्त भइने सेढाइँको सुझाव छ । अहिलेको समयमा जे छ त्यसैमा सन्तुष्ट बन्न सक्ने, आफूलाई अरुसँग तुलना गर्नुपर्ने, मोबाइल फोन, फेसबुक कम प्रयोग गर्ने गर्दा मन शान्त हुने उनि सुझाउछन् ।

खाना खाने, सुत्ने समय एकनासको बनाउने, अनावश्यक समाचारमा विश्वास नगर्ने, कुलतमा नफस्ने, मनोबल उच्च राख्ने र सन्तुलित भोजन खाने गर्नाले मानसिक समस्याबाट वञ्चित भइने सेढाइँले जानकारी दिए।

पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै जाँदा आइसोलेसनमा बस्नेहरुमा मानसिक समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् । उनीहरुलाई मानसिक समस्या नआउने गरी स्वास्थ्यमा ध्यान दिनुपर्ने चिकित्सकहको सुझाव छ ।

कोरोना सङ्क्रमणलाई त्रासको रूपमा नहेरेर सावधानी अपनाएर उच्च मनोबलका साथ बसेमा रोग जित्न र लाग्न नदिन सहयोग पुग्ने विज्ञहरुको सुझाव छ ।
रासस

कमेन्टहरु
Loading...