गोकुल बानिया
पोखरा १७ कार्तिक । पोखरामा आयोजित दोस्रो क्षेत्रिय गोदावरी प्रदर्शनी एबं पुष्प ब्यापार मेला २० लाखको कारोबार गर्दै सकिएको छ । ४ दिने मेलामा २० लाख बराबरको फुलको कारोबार भएको र करिब १५ हजार दर्शक भित्रिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन कास्कीले जनाएको छ । तिहारको अबसरमा आयोजित मेलामा १५ रुपैया देखि एक लाख ५० हजार सम्ममा फुलका बिरुवा बिक्रि एबं प्रदर्शनीमा राखिएको थियो ।
तिहारको लागि आबश्यक फुल किन्नेहरुको लागि मेलाले सहज बनाईदिएको आयोजकको दाबि छ । स्थानिय स्तरमा उत्पादन बढेपछि यसपालि पोखरामा बिदेशी फुलको आयत घटेको छ । कास्कीमा ब्यबशायीक फुल खेतिगर्नेको संख्या बढेपछि छिमेकी देश भारतबाट हुने फुलको आयतमा कमी आएको हो । गत बर्ष तिहारको लागि करिब २ लाख ५० हजार भारतिय माला भित्रिएको पोखरामा यस बर्ष ५० हजार मात्र माला भित्रिने फ्लोरिकल्चर एसोसिएसन कास्कीले जनाएको छ ।
फुलको उत्पादनमा नेपाल क्रमश आत्मनिर्भर बन्दै गएकाले अबको दुई बर्षमा बिदेशी फुल आयत पूर्ण रुपमा बन्द हुने एसोसिएसन कास्कीका अध्यक्ष दया कुमार द्धावाले बताए । पोखरामा अघिल्लो बर्षको तुलनामा यस बर्षको तिहारमा भारतिय फुलको आयात ७५ प्रतिशत घटेको छ । २५ वटा ब्यबशायीक नर्सरी रहेको पोखरामा २७ रोपनी क्षेत्रफलमा फुल खेति हुदै आएको छ ।
तिहारको लागि अत्याबश्यक मखमली फुल भक्तपुरमा उत्पादन हुने गर्छ । त्यसको साथै चितवन, हेटौडा, धादिङ लगायतका जिल्लाहरुमा पनि थोरै मात्रामा फुलको ब्यबशायीक खेति गरिएको छ । यस बर्ष नर्सरी बाहेक कास्कीको लेखनाथको साथै पोखराका बिभिन्न स्थानमा अन्य कृषकहरुले तिहारको फुल उत्पादन गरेका छन् । पोखराको उत्पादनले यहाको स्थानिय मागको ५० प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो बर्ष सम्म यहाको उत्पादनले स्थानिय मागको २५ प्रतिशत मात्र हिस्सा ओगटेको थियो ।
तिहारको बेला अत्याधिक फुलको ब्यापार हुने भएपनि यसलाई ब्यबस्थित बनाउन नसक्दा उपभोक्ताले महंगो मुल्यमा खरिद गर्नुपरेको गुनासो गरेका छन् । बिदेशी फुलको आयात यस बर्ष घटेपनि मुल्य भने बढेको छ । यस बर्ष एउटा मालामा ५० प्रतिशतले मुल्य बढेको ब्यबशायीले बताएका छन् । मध्य तिहारमा शहर बजारका विभिन्न चोक चोकमा पनि मखमली र सयपत्री फूलको माला विक्रि गर्नेको भिड लागेको छ ।
यसरी चोक चोकमा माला विक्रि गर्ने व्यापारीहरूले प्रति माला ३ सय रूपैयाँ सम्म लिने गरेका छन् जुन मुल्य फुलबारी नर्सरीमा पाईने मुल्य भन्दा दुइ गुणा बढी हो । तिहारमा पोखरामा एक लाख माला खपत हुने अनुमान छ ।