गलकोट । माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय । गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे । गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् । १८ छात्रा, १३ छात्र । सबै दलित समुदायका । विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । बाल कक्षा पनि चलेको छ । विद्यालयले सिकाइमा अङ्ग्रेजी माध्यम अपनाएको छ । स्थायी र राहत दरबन्दीमा एक÷एक शिक्षक छन् । दुई शिक्षक स्थानीय स्रोतका ।
कमजोर आर्थिक स्थिति र सिमित स्रोत, साधनका बाबजुत बालबालिकालाई गुणस्तरीय शिक्षा दिन विद्यालय सङ्घर्षरत छ । प्रदेश सरकारको सहयोगमा चार कोठे भवन बनेपछि विद्यालयको भौतिक अवस्था केही सुधारिएको छ । खेल मैदानको भने अभाव छ । केही वर्षअघिसम्म विद्यार्थी, शिक्षक, व्यवस्थापन पक्ष सबै दलित समुदायकै थिए । अहिले प्रधानाध्यापकलगायत शिक्षक, कर्मचारी गैरदलित पनि छन् । दलित बाहुल्य बस्तीमा पर्ने भएकाले विद्यालयमा दलित विद्यार्थी धेरै हुनु अनौठो होइन तर, यो विद्यालयमा दलित विद्यार्थी मात्रै पढ्छन् ।
विद्यालय नेरफेर अन्य जातिका मानिसको बसोबास नभएको भने होइन । उनीहरुका बालबच्चा दैलोको विद्यालय छाडेर कोही नीजितिर त कोही अन्यत्रको विद्यालय जान्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल दर्जीका अनुसार सार्वजनिकरुपमा अनुरोध गर्दा पनि गैरदलित समुदायका बालबालिका भर्ना हुन आउँदैनन् ।
आफ्ना बालबालिकालाई कहाँ पढाउने भन्ने विषय अभिभावकको स्वतन्त्रता भएकाले विद्यालयले बढी जोड गर्न नमिल्ने उनको तर्क छ । उनले मौलिक परिचयका साथ विद्यालयलाई स्थापित गर्नमा आफूहरुको जोड रहेको उल्लेख गरे । विद्यालयका प्रअ कल्पना गौतमले विद्यालयमा गुणस्तरीय सिकाइको वातावरण बनाउन आफूहरु लागिपरेको बताए ।
प्रअ गौतमले विद्यालयमा कम्प्युटर शिक्षाको योजना रहेपनि आर्थिक स्रोत नजुट्दा समस्या निम्तिएको बताए । प्रविधियुक्त सिकाइका लागि स्रोत, साधनको कमी छ । स्थानीय तहलगायत सरकारी निकायबाट धेरथोर सहयोग आएपनि त्यो प्रयाप्त छैन । सङ्घसंस्था, दाताले बेलाबेला विद्यार्थीका लागि शैक्षिक सामग्री, पोशाक वितरण गर्दै आएका छन् । गत साता गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले अक्षयकोषमा रहने गरी रु. ५० हजार आर्थिक सहयोग गरेको थियो ।
अक्षयकोषको ब्याजबाट वर्षेनि उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत÷सम्मान गर्ने सोच विद्यालयको छ ।
रासस