कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालकको व्यस्त दैनिकी

रिना थापा

भलाम पोखरा २० घर भएका चित्रबहादुर गुरुङलाई समयमा खाना र खाजा खाने फुर्सद छैन । उनीसँग बिहीवार पोखरा महानगरको स्वास्थ्य शाखामा भेट भयो । कार्यालय अगाडि निर्धक्क र अलिकति डरले केही कुरिरहेका थिए ।

एकैछिनमा स्वास्थ्य शाखा अधिकृतको कोठाबाट हातमा केही कागज लिएर मन शान्त बनाउँदै निस्किए । त्यसरी मन शान्त पार्ने कागजको टुत्रा उनको पिसिआर रिपोर्टको थियो । जसको रिपोर्ट नेगेटिभ आएको थियो । हुन त उनले यसरी पिसिआर टेस्ट पहिलोपटक मात्र गरेका भने हैनन् । न त त्यसरी रिपोर्ट कुर्दै बसेको उनको पहिलो अनुभव हो । कारण उनी अहोरात्र कोरोना संक्रमित र शंकास्पद बिरामी बोक्ने एम्बुलेन्स चालक हुन् । त्यसैले पनि उनको आजभोलिको दैनिकी भिन्न छ ।

कतिबेला कस्तो बिरामी बोक्न जानुपर्ने हो थाहा हुँदैन । खानाको ध्यानभन्दा उनी पिपिई लगाएर तयारी अवस्थामा बसिरहेका हुन्छन् । गत बुधबार उनलाई गन्थन टिमले भेट्न खोज्दा उनी बिरामीलाई आइसोलेसनमा लैजान व्यस्त थिए । दिउँसोको साढे २ बज्दासम्म उनलाई खाना खाने फुर्सद थिएन । त्यतिन्जेलसम्म खाना खाएर फेरि बिरामी लैजानुपर्ने खबर उनको फोनमा आइसकेको थियो ।

बिहीबार भने उनले एकछिन भए पनि फुर्सद पाए । भलाम घरबाट बिहान खाना खाइवरी महानगर आफ्नो रिपोर्ट लिन आइपुगेका थिए । हातमा रिपोर्ट लिएर उनी भन्दै थिए, ‘अहिलेसम्म कता जानुपर्छ खबर छैन । फोन आए हिँडिहाल्नुपर्छ ।’ उनी तयारी अवस्थामा रहने तर्खर गर्दै थिए । यसरी आजभोलि घरघर पुगेर संक्रमितलाई अस्पताल पु¥याउनु वा शंकास्पद बिरामीलाई क्वारेन्टाइन लैजाने उनको दैनिकी हो । पोखरा महानगरमा यतिबेला दिनप्रतिदिन संक्रमित देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरेको छ । एम्बुलेन्स सेवामा काम गर्ने उनी सहित पोखरा महानगरले खटाएका ४ चालक भने बिहानैदेखि मध्यरातिसम्म संक्रमितलाई घरबाट अस्पताल र क्वारेन्टाइन पु¥याउन खटिरहेका हुन्छन् ।

गुरुङले पहिलोपटक कुन बिरामीलाई अस्पताल पु¥याए, ठ्याक्कै याद छैन । तर मनमा अनेकथरी कुरा खेलाएर आत्तिएको उनी सम्झन्छन् । ‘सुरुमा त डर लागेको थियो नि । आफूलाई संक्रमण भयो भन्दा पनि परिवारको चिन्ता थियो । तर अहिले महानगरले एमबुलेन्समा पार्टेसन गरेको छ । त्यसैले ढुक्क छु ।’ उनले भने, ‘घरमा ६ महिनाको नाति छ, खेलाउन मन लाग्छ । सुरक्षा सावधानी अपनाएपनि मनमा अलिकति चिसो पस्ने रहेछ । तर मेरो मनबाट डर भने हट्यो है सुरक्षा सावधानी अपनाउदा चाहिँ ।’

गुरुङको परिवारमा आफू श्रीमती, छोरा, छोरी र एक ६ महिनाको नाति छन् । सुरुसुरुमा परिवारले अलिकति संकोच मानेका थिए । तर अहिले बुझ्छन् पनि । आफू पनि सावधानी अपनाएका घरमा घुलमिल भइरहेको उनी बताउँछन् । महानगरमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यसका लागि जसरी हो खटिनुपर्छ । यसरी खटिए पनि उनीहरु घरमै गएर बस्नुपर्ने हुन्छ । दैनिक संक्रमितको सम्पर्कमा हुने भएकाले १ हप्ता वा १० दिनमा पिसिआर गर्छन् । सावधानी अपनाएकाले अहिलेसम्म संक्रमण नभएको उनी बताउँछन् । पिपिइ लगाउन, संक्रमित र शंकास्पद बिरामीलाई एम्बुलेन्समा चढाउन र ओराल्न उनिीहरुले तालिम लिएका छन् ।

‘घरमा जानुभन्दा अगाडि नुहाउँछु । अनि मात्र भित्र पस्छु । घरमा छोरीले भने बाबाले पिपिइ लगाएर हिँडेको देख्दा नरमाइलो मान्छे ।’ उनी हाँस्दै भन्छन् । नेपालमा भर्खर कोरोना महामारी सुरु हुँदा उनलाई पनि डर लाग्थ्यो । तर स.क्रमितलाई एम्बुलेन्समा ओसार्दा ओसार्दै उनलाई बानी परिसक्यो । ‘पहिले पहिले समाचारमा हेर्दा निकै भयावह स्थिति हुन्छ होला जस्तो लाग्थ्यो ।’ निर्धक्क हुँदै उनले भने, ‘अहिले त सुरक्षा र सावधानी अपनाएर काम गर्छु, डर लाग्दैन, बानी पनि प¥यो अब त ।’

उनलाई कोरोना संक्रमित हुने डरले नपोले पनि कहिलेकाहीं साथीभाइको हाँसीमजाकले बेस्सरी मन दुख्छ । ‘मलाई देखेपछि ओहो कोरोना आयो भन्छन् छरछिमेकले ।’ मन अमिलो बनाउँदै उनले भने, ‘अनि मलाई त रिस उठ्छ । आफ्नो र परिवारको ज्यानको माया सबैलाई हुन्छ मान्छेले त्यस्तो भन्दा कस्तो नबुझे जस्तो लाग्छ ।’

पोखरा महानगरले बिरामी ओसारपसार गर्न ४ वटा एम्बुलेन्स व्यवस्था गरेको छ । संक्रमितको नाम ठेगाना र नम्बर प्राप्त भएपछि बिरामी लिन एम्बुलेन्स पठाउने गरेको एम्बुलेन्स व्यवस्थापन टोली पोखरा महानगरका सचिव अर्जुनबहादुर खत्री क्षेत्रीले बताए । संस्थाले संक्रमितलाई अस्पताल पु¥याउनु र अस्पतालबाट घर ल्याउनलाई निशुल्क सेवा दिएको उनले बताए । ‘पोखरामा विभिन्न संघसंस्था मार्फत् ५८ वटा एम्बुलेन्स हाम्रो सम्पर्कमा आएका छन् । जसमध्ये हामीले ४ वटा एम्बुलेन्सलाई कोरोना डेडिकेसन एम्बुलेन्स बनाएका छौं ।’ उनले भने ।

लक्षणसहितका संक्रमितलाई अस्पताल र शंकास्पदलाई क्वारेन्टाइन पुयाउन तिनै एम्बुलेन्स चालक खटिएको उनले जानकारी दिएका छन् । संक्रमित बोक्ने चालकलाई यतिबेला तलब सहित सरकारले उपलब्ध गराएको जोखिम भत्ता दिने निर्णय गरेको छ ।

गुरुङले पनि चैत देखि साउनसम्मको एकमुष्ठ तलबसहित प्रोत्साहन भत्ता बुझेको जानकारी बताए । पोखरामा निशुल्क एम्बुलेन्स सेवा सहित पोखरा महानगरपालिकाले एउटा निशुल्क शववाहन सञ्चालन गरेको छ ।

कमेन्टहरु
Loading...