म्याग्दीमा एकै दिन ४ जना डेंगु र स्क्रबटाइफसका बिरामी फेला

म्याग्दी । म्याग्दीमा एकै दिन ४ जना डेंगु र स्क्रबटाइफस संक्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये ३ जनामा डेंगु र स्क्रबटाइफस भएको हो ।

बेनी नगरपालिका–४ सिंगाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षका पुरुषमा डेंगु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी ३३ वर्षीया महिलामा भने डेंगु मात्र देखिएको छ । उनीहरु बाहिरबाट नआएर स्थानीयस्तरमै खेती किसानी र व्यापार व्यवसाय गर्ने व्यक्ति हुन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यस वर्ष ३७ जना डेंगु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन् ।

गत वर्ष १३ जना डेंगु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनी ५ करोड मानिस प्रभावित हुने तथ्यांक छ । नेपालमा गत वर्ष केही डेंगु संक्रमितको ज्यानसमेत गएको थियो ।

५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने एवं हाडजोर्नी तथा मांसपेशी दुख्ने डेंगुका मुख्य लक्षण हुन् । टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रम, घर, कौसीको गमला, फूलदानी, एयर कन्डिसन, कुलर र पानीको ट्यांकीमा डेंगु सार्ने लामखुट्टेले फुल पार्छ ।

डेंगु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ । डेंगु र स्क्रबटाइफसका केही लक्षण मिल्दोजुल्दो हुन्छ । स्वास्थ्य कार्यालय र स्थानीय तहले डेंगुको बासस्थान नष्ट गर्नाका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् । रासस

कमेन्टहरु
Loading...