दिनभरको काम, बालुवामा पानी…

रिना थापा

पोखराको रामघाट सेती किनार पुग्दा अहिलेको समयमा पनि थुप्रै मानिस यताउती गरेको देख्न पाइन्छ । ती हुन् सेती किनारमा बिहान बेलुका बालुवा चालेर छाक टार्नेहरु । बिहान उठेदेखि बेलुकी रिमझिम साँझसम्म बालुवा र बेल्चासँग जोडिएको उनीहरुको दैनिकी बाध्यता हो । बिहान बेलुकाको खर्च निकाल्न उनीहरु सेती तीरमा भासिंदै गरेको बालुवामा बेल्चा चलाउन व्यस्त हुन्छन् ।

उनीहरु बालुवा चालेर जीविकोपार्जन मात्र नभइ आफ्ना बालबच्चलाई स्तरीय शिक्षाका लागि खर्च गरिरहेका छन् । मजदुरीको कमाइ, कमाउन सके कमाइन्छ नसके के खाउ भनेर धौ धौ । अहिले यहाँ सबै मजदुरको हाल यस्तै छ ।

स्थिति सहज बनेका बेला केही मजदुरले दिनभरको काम बालुवाको टिप वा खेपको हिसाबले ज्याला पाउँथे । एउटा प्रख्यात भनाइ छ नि ‘बालुवामा पानी हाले जस्तै ।’ अहिले उनीहरुको हाल ठ्याक्कै त्यस्तै छ । काम ग¥यो तर हात लाग्यो शुन्य । मजदुरले दिनभर काम गरे पनि सरकारले कोरोना नियन्त्रणका लागि पछिल्लो समय गरेको लकडाउन र अहिले जारी निषेधाज्ञाले बालुवा विक्री हुन पाएको छैन ।

सरकारको निषेधाज्ञाले उनीहरुको दैनिक रोजिरोटी समस्यामा परेको छ । त्यही पनि उनीहरु सधैं जसरी आफनो कर्मअस्त्र (बेल्चा) समाएर उही दैनिकीमा लाग्छन् । वर्षायामको समय सेती नदी उर्लिएकै छ । किनारका बालुवालाई सेती आफूमा समाउँदै छ । त्यही पनि उनीहरु अहिले नभए स्थिति सहज बनेपछि बालुवा विक्री हुन्छ कि भन्ने आशामा किनारबाट बालुवा बोक्छन् ।

सल्यान घर भई पोखरा सेती किनारमा बालुवा चालेर जीविपार्जन गरिरहेका बुमबहादुर बोहराको समस्या अहिले त्यही छ । लकडाउन अगाडि सामान्य जीविकोपार्जन चलिरहेको थियो । घरमा बिहान बेलुकाको चुलो आरामले बल्थ्यो । तर सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा ग¥यो । त्यस अवधिमा जसोतसो जेनतेन राहतले घर चलाए । १ सय २० दिन लामो लकडाउन खुलेपछि उनलाई केही राहत महसुुुस भयो । उनले सोंचे, अब गरि खान पाइने भयो । तर फेरि दिनप्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गते रातिदेखि जिल्लामा निषेधाज्ञा जारी ग¥यो । जसको प्रभाव उनी जस्तै अन्य मजदुरलाई परेको छ ।

हातमा चुरोट सल्काउँदै सेतीको केही माथि मजदुरले पानीले चालेको बालुवा बगाउँछ भनेर माथि थुपारेर राखेका छन् । त्यही एउटा बालुवाको बोरामा बोहरा चुरोट सल्काउँदै आफुले चालेर थुपारेको बालुवा हेर्दै छन् । ‘लकडाउन खुलेपछि अलिअलि बिकेको बालुवाले अहिले जेनतेन चुलो जलेकै छ, तर बन्द अझै बढे मुस्किल छ । उनी निन्याउरो हुँदै भन्छन्, ‘घर जान पाएको भए पनि आफ्नै गाँउठाँउमा केही हुन्थ्यो होला, यो सहर पनि विरानो, अनि घरबेटीको किचकिच पनि उस्तै ।’

अहिले किनारमा काम गरेर खाने अन्य मजदुरको कथा पनि एउटै हो । बोहराको नजिकै काम गरेर थकान मार्दै गरेकी देवमाया मगर बालुवा नबिके के खाने सोच्दै थिइन् । थकाईको सुस्केरा हाल्दै उनले भनिन्, ‘बालुवा किन्ने मान्छे आए त समस्या छैन नि, काम गरिएकै छ । तर बालुवा चालेर थुपार्ने काम मात्रभयो । किन्ने मान्छे नै आउँदैन, कमाइ हुँदैन । अब कसरी चल्नु ?’

यति बेला सेती किनारका सबै मजदुरले बालुवा चालेर थुपारेर राखेका छन् । अहिले विक्री नभए पछि हुन्छ भनेर । बालुवा किन्ने मान्छे नआए पनि उनीहरुको दैनिक काम चलिरहेको छ । तर यता बालुवा नबिकेर तनाव, उता वर्षायामको सेतीले कहिलेकाही चालेर राखेको बालुवा सबै बगाइदिन्छ । चालेर राखेको बालुवा खोलाले नबगाओस् भनेर खोलामाथि सबैले बालुवाको थुप्रो बजार जस्तो बनाएर राखेको छन् ।

मजदुरले एक टिप बालुवाको ४ देखि ५ हजार कमाउँछन् । एक टिप बालुवाका लागि ५ं० देखि ६० डोको जति बालुवा बोक्नुपर्छ । जसलाई पु¥याउन ३ देखि ४ दिन लाग्छ । केही मजदुरले दैनिक ज्यालादारीको हिसाबमा काम गर्छन् । जुनको कमाइ बालुवाको खेप हेरेर दैनिक ५ सय देखि १५ सयसम्म हुन्छ ।

किनारको छेउैमा मानबहादुर भर्खर चालेको बालुवा बोकेर माथि लैजाँदै थिए । उमेरले अब आराम गर्ने समय भयो । तर घरको जीविकोपार्जनको स्रोत नै उनी हुन् । घरमा ५ जना परिवार छन् । सबैको जिम्मेवारी उनको काँधमा छ । तर बालुवा विक्री नहुँदा परिवारलाई कसरी पाल्ने भन्ने उनलाई चिन्ता छ । ‘अन्य काम छैन हाम्रो । काम नै यहिं हो । यसैले गुजारा चल्छ । तर अहिले बालुवा विक्री नहुदाँ समस्या छ ।’ उनी आफैंसंग गुनासो गर्दै भन्छन् ।

यतिबेला कोरोना भाइरसले सबै विद्यालय बन्द छन् । जसको सदुपयोग गर्दै सेती किनारमा १३ वर्षका सुरेश नेपाली अभिभावकलाई सघाउन बालुवा चाल्दै बस्छन् । कक्षा ८ मा पढ्ने उनी स्कुल जान नपाएपछि घरमा बस्न अल्छी लागेर खोला छेउ आएको बताउँछन् । ‘कोरोना भाइरसले गर्दा विद्यालय कहिले खुल्ने हो थाहा छैन, घरमा पनि कति बस्नु ?’ उनी भन्छन्, ‘बरु यहाँ आएर काम गरे अभिभावकलाई सहयोेग हुन्छ भनेर आएको ।’

उनकै छेउमा रहेकी बेलमाया गुरुङको आफ्नै समस्या छ । ‘बाहिर काम गर्न पाइँदैन बेला, बेला प्रहरी आउँछ, काम गरेर खानै प¥यो पेटलाई भोक लाग्छ ।’ उनी भन्छिन् । उनका श्रीमान त्यहीं बालुवा चाल्ने काम गर्छन् । दुवैले मजदुरी गरे पनि कमाइ छैन । उनी सुनाउँछिन्, ‘घरमा बिरामी छोरी छ, घरबेटीलाई भाडा तिर्नूपर्छ । आफूले खानै प¥यो । पु¥याउन सबै खर्च चलाउनुपर्छ । छोरीको उपचार गर्न पाएकी छैन । तर आम्दानी स्रोत भने छैन ।’

बिहान बेलुकाको खर्च निकाल्न किनारमा बालुवा चाल्न गएपनि सवारीसाधन नचल्दा बालुवा विक्री हुन पाएको छैन । सरकारले निर्माण कार्यलाई निरन्तरता दिन निर्माण साम्रागी ढुवानीमा सहज गरे पनि निषेधाज्ञा र कोरोना महामारीले अप्रत्यक्ष प्रभाव पारेको छ । जसको मारमा सेती किनारमा बालुवा चालेर मजदुरी गर्दै पेट पाल्नेहरु परिरहेका छन् ।

कमेन्टहरु
Loading...