म्याग्दीमा पर्यटक आगमनमा ३४ प्रतिशतले ह्रास

म्याग्दी । गत आर्थिक वर्ष २०७६/७७ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ३४ प्रतिशतले घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)का कारण सो आवको पछिल्लो ४ महिना पर्यटक आगमन शून्य रह्यो । स्वदेशी र विदेशी दुवै किसिमका पर्यटक आगमनसँगै पर्यटन र होटल व्यवसाय ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार ७६ साउनदेखि २०७७ असारसम्म म्याग्दी घुम्ने पर्यटकको संख्या ५० हजार थियो । प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन ३४ प्रतिशतले घटेको बताएका छन् । ‘आव २०७४/७५ र २०७५/७६ मा ७५ हजारको हाराहारीमा पर्यटक आएका थिए ।’ उनले भने, ‘गएको वर्ष फागुनसम्म मात्र पर्यटक आएको देखिन्छ । त्यसपछि शून्य छ ।’

आव २०७५/७६ मा ७५ हजार १ सय ९१, २०७४/७५ मा ७४ हजार ७ सय ३३, २०७३/७४ मा ६९ हजार ८३ सय ७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार ६ सय ३२ जना थियो । गत वर्ष म्याग्दी भित्रने पर्यटक ३० हजार र बाहिरिने २० हजार छन् । बन्दाबन्दी र अन्तर्राष्ट्रिय उडान तथा नाका बन्द भएकाले चैत, वैशाख, जेठ र असार महिनामा पर्यटक संख्या शून्य छ ।

गत कात्तिकमा सबैभन्दा बढी १३ हजार १ सय १९ र असोजमा १० हजार ३७ जना पर्यटक आएका छन् । घोरेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहिरिने पर्यटकको विस्तृत विवरणको तथ्यांक राख्ने गरिएको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले बताए ।

म्याग्दीमा आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोरेपानी, पुनहिल क्षेत्र पर्छ । धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउँछन् । बेनी, तातोपानी, घोरेपानीलगायत स्थलमा पर्यटकलाई लक्षित गरेर दुई सय बढी सुबिधा सम्पन्न होटल तथा लज छन् । रासस

कमेन्टहरु
Loading...