रिना थापा
गत जेठमा ठ्याक्कै ४ वर्ष पुरा भयो दिवा विकको काखमा तेश्रो सन्तानकारुपमा एक नाबालक थामिएको । तर त्यो नाबालक दिवाले नौ महिनासम्म आफ्नै कोखमा राखेर जन्माएको भने होईन । एक युवतीले आफ्नै सन्तानप्रति मारेको माया उनको ‘मानवीय’ जिम्मेवारी बन्न पुग्यो ।
पोखरा रंगशालामा निर्माणको काम भईरहेको थियो । दिवा मजदुरीका शिलशिलामा काममा व्यस्त भइरहँदा एक युवती काखमा बच्चा च्यापेर हतारिँदै जिल्ला खेलकुद विकास समितिको कार्यालय नजिकै आईन् र औषधि लिन जाने भन्दै दिवालाई बच्चा थमाएर बाटो लागिन् ।
तर पाँच वर्ष लाग्यो ती युवतीले आफ्नै सन्तानको माया मारेको । तैपनि दिवालाई अझैपनि लाग्छ , आफ्नो सन्तानको माया हरेक नारीलाई हुन्छ र कुनै न कुनै दिन ती युवती फकिन्छन् ।
जन्म दिने आमाले जानाजान मातृवात्सल्य गुमाउन वाध्य पारीएको ती नाबालक (छोरी) तोतेबोली बोल्ने भएकी छन् । जसको नाम मनकारी दिवाले सन्ध्या समेत राखिदिएकी छन् । आफैलाई जन्म दिने को हो भन्ने सम्म जान्न नपाएकी सन्ध्याले जब दिवालाई आमा भनेर बोलाउछिन,त्यतिखेर दिवालाई मातृत्वको भक्कानो छुट्छ ।
उनी भन्छिन्, “आफैले जन्माएको सन्तानले आमा भनेर पुकार्दा जस्तो खुशी लाग्छ त्यस्तै सन्ध्याले आमा भन्दा खुशीको सीमा रहन्न । तर जन्म दिने आमाले जानाजान कसरी त्यस्तो खुशी छिन्न सकेको होला भनेर सम्झदा आफै भक्कानिन्छु ।”
अन्जान युवतीले बच्चा छाडेर गएपछि र तत्काल नफर्किने छाँट देखेकी दिवाले बच्चाको संरक्षण गरिदिन एसओस बालग्रामको ढोकामा पुगेकी थिईन् । तर एसओएसले पुलिस रिपोर्टलगायतका कागजात माग्यो । यि सबै जुटाउने हिम्मत दिवामा भएन, अन्तिम विकल्पकारुपमा त्यो अबोध बालिकालाई आफैले स्याहार गर्नु बाहेक । उनले अन्तिम विकल्प रोजिन् ।
अकस्मात आएको परिस्थितिसँग दिवा जानकार थिईन् । तर उनका श्रीमान्ले भने सहजै त्यो अवस्था स्वीकारेनन् । जसोतसो दिवाले आफ्ना श्रीमानलाई मनाईन् र केही बिरामी अवस्थाकी ती बालिकालाई उपचार र स्याहार गर्न थालिन् ।
त्यो अवस्था सम्झिँदै दिवाले गन्थन डटकमसँग भनिन्,– ‘न त एसओएस कि के भन्ने संस्थाले स्वीका¥यो, न कुनै बालगृहले । श्रीमानलाई सम्झाउन कम्ता मुस्किल भएन तैपनि श्रीमानको मन फर्कियो र हेरबिचार गर्न थाले ।’
तत्अवस्थामा ती नाबालिकालाई स्वीकार्नुमात्रै जिम्मेवारी पुरा थिएन । आर्थिकरुपमा कमजोर दिवा दम्पत्तीलाई हातमुख जोर्न मजदुरी गर्ने की नाबालिकालाई भुलाएर बस्ने । त्यहि दोधाँरकाबीच केहि मनकारी ब्यक्ति र संघसंस्थाको यथाशक्य सहयोग ठूलै राहत बन्यो ।
रंगशाला सफाई गरेर आउने निम्न आयबाट परिवार पाल्नै मुश्किल दिवालाई अर्को एक सदस्यको पनि लालनपालन पक्कै सहज थिएन । तैपनि उनले हार खाईनन् र आफ्नै सन्तानझै सन्ध्यालाई पाल्ने निर्णय गरिन् । जुन निर्णय गरेको पनि ४ वर्ष पुगिसक्यो ।
दिवाका श्रीमान् पनि मजदुरी त गर्छन् तर कोभिड १९ त्यसको प्रतिफलवापत जारी लकडाउनले उनको परिवारमा पनि संङकट छाउन थालेको छ । आफनै कोखबाट जन्मेको दुई छोरी र एक छोराकी आमा दिवालाई बेइमान आमाले छाडेर जिम्मामा आएकी छोरीको पनि उज्वल भविष्यको सपना बुनिरहेकी छन् ।
अनुहारमा उच्च आशा र त्यो भन्दा बढीे चिन्ता दर्शाउदै उनी भन्छिन्, ‘यत्ति हो मलाई केहि चाहिँदैन यो नानीसहित सबैको सन्तानको भविष्य उज्वल पार्न पाए मन खुशी हुन्थ्यो ।’
त्यसोत एसओएस बालग्रामले सन्ध्याको पढाइ खर्च ब्यहोर्ने भनेको छ तर दिवालाई सन्ध्या हुर्किदै जाँदा उनीसँगै बढ्ने अन्य आवश्यकता पुरा गर्न सक्ने हिम्मत आइरहेको छैन । कसैको सहयोगको अपेक्षा नै उनको हिम्मतको आधार बनेको छ ।
केहिदिन अघिमात्र काठमार्डौ कपनमा फेला परेको शिशुको समाचारले सामाजिक संजाल छ्याछ्याप्ती बन्यो । जुन खबर दिवाको कानमा पनि परेको छ ।
कपनको उक्त बच्चा सुनियोजित ढंगमा बालगृह संचालिका र शिशुको आमा मिलेर नाटकीयरुपमा फालेको भन्ने कुरा बाहिर आएपछि त झन् दिवालाई पनि कतै सन्ध्याकी आमाले ४ वर्षअघि जानेरै आफ्नो बच्चा रंगशालामा छाडेकी हुन् कि भन्ने आशंङ्काले मन पोल्ने गरेको छ ।
यद्यपि, दिवाले आश मारेकी छैनन् । उनलाई लाग्छ कुनै दिन सन्ध्याकी आमा आफ्नो बच्चा खोज्दै आउनेछिन्, कमसेकम अहिलेसम्म सन्ध्याका नाममा भएको खर्च नदिएपनि धन्यवादका दुई शब्द खर्चिनेछिन् ।