पोखरा,भदौ २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ भएको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि दिएका छन् ।
गण्डकी प्रदेशको लमजुङ जिल्ला, मस्र्याङ्दी गाउँपालिकाको पुस्तुनमा विसं १९७६ असोज ७ गते घिमिरेको जन्म भएको थियो ।
आज साँझ वक्तव्य जारी गरी मुख्यमन्त्रीले घिमिरेको योगदान नेपाली साहित्यमा कालजयी भएको बताएका छन् ।
‘बाल्यावस्थादेखि निरन्तररुपमा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएका बहुप्रतिभाका धनी राष्ट्रकवि घिमिरेले साहित्यका माध्यमबाट आधुनिक नेपाली जनमानसमा राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना जागरण गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो ।’,मुख्यमन्त्री गुरुङले भनेका छन् ।
उनले घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार भएको बताएका छन् ।
मुख्यमन्त्री गुरुङले दिवङ्गत राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार एवंं आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।
‘गण्डकी प्रदेशको मात्रै होइन सिंगो राष्ट्रकै गौरब राष्ट्रकवि माधव प्रसाद घिमिरिेज्यू यस दुःखको क्षणमा गण्डकी प्रदेश सरकारको तर्फबाट उच्च सम्मान प्रकट गर्दछौं,मुख्यमन्त्रीद्धारा जारी शोक वक्तव्यमा भनिएको छ ।