दिपक के श्रेष्ठ
पोखरामा साउन २५ गते वडा नम्बर १९ लामाचौर निवासी ६२ वर्षीय पुरुषको निधन भएपछि यहाँ पहिलो दुखद घटना घट्यो । त्यसयता हप्ता दिन बितिसकेको छ । र, पोखरामा कोरोना संक्रमणको जरो समुदायमै पुगिसक्यो । दुखद कुरो यो छ कि, स्थानीय र प्रदेश हाँक्ने अगुवाहरु यो कुरा मान्न अझै तयार छैनन् ।
पछिल्लो साताभित्र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दैनिकरुपमा जारी गरेको विज्ञप्ती सर्सर्ती हेर्दा पोखरा महानगरमा संक्रमणको दैनिक ग्राफ उकालो लाग्दैछ । २५ गतेकै तथ्यांकअनुसार पोखरामा संक्रमितको संख्या १ सय ७३ रहको थियो । जसमध्ये संक्रमितको एक्टिभ केस नै ४७ थियो । संक्रमितको संख्या बढ्नु र एकको मृत्यु हुनुले काँपेको पोखरा भोलिपल्ट केही शान्त रह्यो । अर्थात् भोलीपल्ट महानगरभित्र २ जनामा मात्रै संक्रमण देखियो । यतिबेलासम्म कूल संक्रमित संख्या १ सय ७५ मात्रै थियो ।
वडा नम्बर २७ की एक कर्मचारीमा कोरोना देखिएपछि कार्यालय एक हप्ता सिल गरियो । त्यस्तै, २७ गते बिहानै ४ जना संक्रमित भेटिए । उनीहरु वडा ५, ३० र १७ का थिए । घना आबादी भएको सहरी क्षेत्रसँगै पर्ने वडा ५ मा देखिएको संक्रमणले पोखरामा त्रास बढाउँदै लग्यो । कुनैपनि ट्राभल हिष्ट्री नभएका बैंक कर्मचारीमासमेत कोरोना देखिएपछि पोखरेलीहरुले समुदायमा कोरोनाको जालो फैँलदै गएको आशंका गरे ।
कतिपयले फाट्टफुट्ट सामाजिक सञ्जालमा पुनः लकडाउन गर्नुपर्ने अभिव्यक्ति राखे । त्यस्ता अभिव्यक्तिमाथि पक्ष÷विपक्षमा कमेन्ट आए । सोही दिन साँझ ५ बजे निर्देशनालयले दिएको जानकारीअनुसार पोखरामा थप ११ जना संक्रमित भेटिएको खबरले स्थानीय त्रसित भए । अझ अत्याउने खबर त यो थियो कि, उनीहरु वडा नम्बरमा ९ र १९ मा भेटिएका थिए । जसमध्ये १ संक्रमित वडा ९ कै कर्मचारी थिए । यतिञ्जेलसम्म कूल संक्रमित १ सय ९० पुगेका थिए ।
२८ गते बुधबार बिहान वडा नम्बर ६ र १६ मा १–१ संक्रमित भेटिए । १६ मा भेटिएका संक्रमितको कुनै ट्राभल हिष्ट्री थिएन । उनमा संक्रमण देखिएपछि वडा सदस्य राजेश गुरुङ नै छक्क परे । त्यतिबेलै उनले गन्थनलाई भनेका थिए, ‘कोरोना समुदायमै पसिसके जस्तो छ ।’ सोही दिन बेलुकी थप ३ जना संक्रमित फेला परे । उनीहरु वडा २७ बाट भेटिए भने कूल संक्रमित १ सय ९५ पुग्यो ।
यस्तै, २९ गते बिहान वडा २६ मा एक संक्रमित भेटिए । शनिबार ३ संक्रमित पाइए । उनीहरुमध्ये वडा ५ मा भेटिएका २ संक्रमितलाई आफन्तबाटै संक्रमण भएको थियो । अर्का १ जना वडा ८ बाट रहेका थिए । बेलुकी थप ९ संक्रमित भेटिए । वडा १, १०, १४, १७ र २७ मा भेटिएका संक्रमित आफै पीसीआर परीक्षण गराउन अस्पताल पुगेका थिए । यिनीहरु अधिकाँश मोटर ग्यारेजमा कार्यरत भएको खुल्यो ।
आफै परीक्षण गराउन जाँदा सम्बन्धित वडा बेखबर भयो । कोरोना पुष्टीपछि उनीहरुको डिटेल खोज्न महाभारत भयो । अझ कतिपय पीसीआर परीक्षणार्थ स्वाब दिएपछि गाउँ चाहर्दै हिँडेको पत्ता लागेपछि स्थानीय त्रसित भए । यसपछि कोरोना समुदायमै फैलिएको ठहर गरियो । वडाध्यक्ष र जनप्रतिनिधि संक्रमितबारे सूचना नपाएर मिडियासामु नाजावाफ भए । कतिपय वडामा हिँडडुल निषेध गरियो । वडा सदस्यहरु घर बाहिर ननिस्कन अनुरोध गर्दै माइकिङ गर्न थाले । संक्रमित २ सय ८ पुगे ।
आइतबार बिहानै ५ संक्रमित भेटिए । उनीहरु वडा ४ र १६ बाट हुन् । त्यसको ३ घण्टापछि पुनः ५ भेटिए । उनीहरु वडा ८, २६, २८ र ३२ बाट रहेका छन् । आइतबारका दिन यतिले मात्रै संक्रमणको दर रोकिएन । पौने ४ बजे पोखरामा थप १२ जना भेटिए । उनीहरु वडा ५, ७, १४, १५ र १६ बाट रहे । आज एकैदिन कूल २२ संक्रमित भेटिए । र, पुष्टी भएको छ, पोखरामा समुदायमै कोरोना फैलिसक्यो । वडा ५ मा संक्रमित ह्वात्तै बढेपछि वडाध्यक्ष धनबहादुर नेपाली चिन्तित छन् । संक्रमितको डिटेल खोज्न उनलाई चुनौति बनेको छ ।
स्वास्थ्य निर्देशनालयसँग कास्की वा पोखराका स्थानीयहरुको स्वाब संकलन र परीक्षणको यकिन तथ्यांक छैन । हाल परीक्षणको दायरा क्षयरोग उपचार केन्द्रमा बढाइएको छ भने यता, जनस्वास्थ्य प्रयोगशालामा घटाइएको छ । केन्द्रमा दैनिक करिब १ हजारको हाराहारीमा परीक्षण गरिँदैछ । हालसम्म कास्कीमा २ सय ३० संक्रमित पुष्टी भएका छन् ।
उल्लेखित तथ्यांकलाई आधार मान्ने हो भने महानगरका अधिकांश वडामा संक्रमित भेटिएका छन् । सम्बन्धित वडाका पदाधिकारीसँग गरिएको कुराकानीमा उनीहरुले वडामा देखिएको भन्दा बढी जोखिम रहेको स्वीकारेका छन् । अधिकांश वडाध्यक्षले पुनः लकडाउन गर्नुपर्ने धारणा राखेका छन् । यसैबीच, पोखरा महानगरका मेयर मानबहादुर जिसीले संक्रमण समुदायमै पुगेको हुनसक्ने अनुमान गर्दै महानगरलाई थप संक्रमणबाट बचाउन लकडाउन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।