टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई स्वास्थ्य प्रोटोकल प्रशिक्षण

पोखरा । कोभिड –१९ जोखिमका समयमा पनि सञ्चालनको तयारीमा जुटेका टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई नेपाल टुर एण्ड ट्राभल्स एसोसिएशन (नाट्टा) गण्डकीले स्वास्थ्य सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण दिएको छ । नाट्टा गण्डकीको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सञ्चालित तालीमलाई ३ चरणमा विभाजन गरेर १ सय २० जनालाई सहभागी गराइएको संस्थाका महासचिव कमला गिरीले जानकारी दिएकी छिन् ।

बन्दाबन्दी खुलेसँगै सञ्चालनको तयारीमा जुटेका सञ्चालकलाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल सम्बन्धी विधि र प्रक्रियाका बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको संयोजक एवं सचिव संगीता पौडेलले जानकारी दिएकी छिन् । प्रशिक्षणमा सम्बन्धित क्षेत्रका व्यवसायीलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्मा र विश्व स्वास्थ्य संगठनका गण्डकी प्रदेशका प्रतिनिधि डा.राजीव लालचनले स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए । त्यस्तै पर्यटन व्यवसायी समिर बरालले कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा प्रस्तुति राखेका थिए ।

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले पर्यटन क्षेत्रसंवद्ध टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालक र कर्मचारीलाई प्रदान गरिएको स्वास्थ्य प्रोटोकल सम्बन्धी सचेतनाले कोरोनाको जोखिम न्यूनीकरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १ सय ८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा १ हजार १२ तथा यातायाततर्फ ६ सय ५३ जनाले रोजगारी प्राप्त गरेका छन् । रासस

कमेन्टहरु
Loading...