दमौली । तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका १ साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा १ साताका लागि बन्द गरेको हो । नगरवासीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा कार्यालय आजदेखि आगामी भदौ २ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो । ‘कार्यालयमा सेवाग्राहीको भीड बढेकाले जोखिम भएको तथा जिल्लाका अन्य स्थानमा पनि संक्रमण भेटिएको हुँदा नगरपालिकाको कार्यालय र यसअन्तगर्तका सम्पूर्ण वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय गरिएको छ ।’ उनले भने ।
नगरपालिकाभित्र रहेका सार्वजनिक सेवा प्रवाह गर्ने संघसंस्था, वित्तीय संस्थाको कार्यालय पनि बन्द हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवा बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ । यस अवधिमा स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा तथा कार्य र कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण कार्य तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य भने सञ्चालन हुनेछ । स्वास्थ्यसम्बन्धी यी सेवा प्राप्त गर्न पनि व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने नगरपालिकाले जनाएको छ ।
सोमबार कोरोना पुष्टि भएका ती व्यक्तिलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको छ । ती व्यक्तिको सम्पर्कमा आएका सबैको कन्ट्याक ट्रेसिङका आधारमा र परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षणका लागि पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिएका छन् ।
यसैगरी बन्दीपुर गाउँपालिकाले वडा नं ५ का १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त ठाउँको आँधीखोलादेखि गोहोरे चौतारा थुम्का र मस्र्याङ्दी नदीसम्मको क्षेत्रमा अत्यावश्यक कार्यबाहेक अन्य कुनै पनि काम नगर्न/नगराउन अनुरोध गरेको छ ।
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सहज गर्नका लागि सोमबारदेखि बिहीबारसम्म उक्त ठाउँमा काम गर्न बन्द गरिएको गाउँपालिकाका प्रवक्ता धु्रवप्रसाद लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएकाले समुदायमा थप संक्रमण फैलिने जोखिम उच्च रहेकाले सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । रासस