एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा २ करोड २६ हजार २ सय ११ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ । सोमबारसम्म विश्वभरीमा १ करोड २९ लाख ७ सय ५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्वभरमा हाल ६३ लाख ९१ हजार ५ सय ५ व्यक्ति कोरोना संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ९ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४ सय ४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६ सय १७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४ सय ४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ५९ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार ५१५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २ लाख ३४ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ ।
युरोपमा ३० लाख ३६ हजार ७ सय ५२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ६ हजार १ सय ४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार ४ सय ७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ९ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ । अफ्रिकामा १० लाख ५२ हजार ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार ३ सय २४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ सय ४० जनाको मृत्यु भएको छ । रासस