बाग्लुङ ।
पछिल्लो समय बाग्लुङ जिल्लामा नयाँ पर्यटकीय गन्तव्यको खोज, पहिचान र प्रर्वद्धनमा महत्वपूर्ण कदम चालिएको छ । यसै कदमअनुसार बाग्लुङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । धार्मिक गन्तव्यका रुपमा चर्चा कमाउन सफल बाग्लुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट नजीकै १ आकर्षक पहाडको पर्यटकीय हिसाबले प्रचार थालिएको छ ।
त्यसलाई स्थानीय र पर्यटन अभियानकर्मीले ‘बुद्धको पहाड’ नामकरण गरेका छन् । प्राकृतिक रुपमा बाग्लुङ–६ र ७ को सिमानामा रहेको बैजनीको पाखामा शाक्यमुनिक गौतम बुद्धको स्पष्ट आकृति पहिचान भएपछि हालै मात्र ‘बुद्ध हिल’ को पहिचान समेत दिइएको छ । बैजनीको पाखामा ढुंगाको पूर्व फर्किएको पहाडलाई दायाँबाट देख्न सकिने सिद्धार्थ बुद्धको आकृति धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्वपूर्ण भएको जनाउँदै शनिबारदेखि प्रचारप्रसारसमेत थालिएको छ ।
बन्दाबन्दीका समयमा लामो पदयात्रा जाने क्रममा बैजनीको पाखामा तस्बिर खिंच्दै गर्दा उक्त ढुंगाको पहाडमा बुद्धको आकृति देखिएको घुमन्ते समूहमा आबद्ध बाग्लुङका युवा पर्यटन अभियानकर्मी खिमबहादुर क्षत्रीले बताए । समुद्री सतहदेखि १ हजार ७ सय ७५ मिटरको उचाइमा रहेको उक्त पहाडको प्रर्वद्धन गरी पर्यटकको आर्कषण केन्द्रका रुपमा परिचित गराउन घुमन्ते समूहले स्वतः स्फूर्तरुपमा पहिचान तथा साङ्केतिक नामपाटी स्थापना गरिसकेको छ ।
‘हामीले बन्दाबन्दीका समयमा घुम्न जाँदा बुद्धको आकृति फेला पारेका हौं ।’ क्षत्रीले भने, ‘यसको स्वतःस्फूर्तरुपमा पहिचान स्थापित गर्नका लागि स्थानीय जनप्रतिनिधिको सहयोगमा सूचना बोर्ड स्थापनासमेत गरेका छौँ ।’ ४ वर्षदेखि पहिला स्वदेशका ४ किल्ला अनि बाहिरी जिल्ला भन्ने अभियानअन्र्तगत विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रबद्र्धनका लागि काम गरिएको उनको भनाइ छ ।
बुद्धको आकृति यसअघि स्थानीयवासीले देखेका भए पनि अभियानका रुपमा चलाउन सकेका थिएनन् ।
पर्यटकीयस्थलको भ्रमण र प्रचारप्रसार गर्दै आएको घुमन्ते समूहले यसलाई प्रचारप्रसार गर्नका लागि अग्रसरता देखाएपछि वडा कार्यालयसमेत अभियानमा जोडिएको बाग्लुङ–६ का वडाध्यक्ष खिमराज सापकोटाले जानकारी दिएका छन् । पञ्चकोट घुम्न आएका पर्यटकलाई १० मिनेटको पैदल यात्रामार्फत यहाँ ल्याउन सकेमा पर्यटकीय हिसाबले गन्तव्यका रुपमा स्थापना गर्न सकिने सापकोटाको भनाइ छ । बाग्लुङदेखि धारापानी हुँदै कालीमाटी सडकबाट झण्डै १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने ‘बुद्ध हिल’ धार्मिक तथा पर्यटकीय हिसाबसमेतले महत्वपूर्ण हुन सक्नेछ ।
वडा कार्यालयले आगामी वर्ष ‘बुद्ध हिल’ पुग्ने पदमार्ग, रेलिङलगायत आवश्यक पूर्वाधारमा लगानी गर्ने वडाध्यक्ष सापकोटाले बताए । ‘४÷५ वर्ष पहिला पर्यटन व्यवसायीले बुद्धको आकृति भएको बैरेनीको पाखो नजिकै जग्गा खोजेका समेत रहेछन् ।’ सापकोटाले भने, ‘यसको पहिचानपछि अहिले घुमन्तेको अग्रसरतामा प्रवद्र्धनको काम सुरु भएको छ ।’ बाग्लुङ घुम्न आउने पर्यटकका लागि समेत नयाँ गन्तव्यका रुपमा यसलाई प्रवद्र्धन गर्न सकिने छ । पछिल्लो समय बाग्लुङमा विदेशी पर्यटकसमेतको आकर्षण बढ्दै गएको छ । धार्मिक गन्तव्यका लागि बुद्ध पहाड महत्वपूर्ण हुन सक्ने होटल व्यवसायी संघ बाग्लुङका अध्यक्ष निलेश राजभण्डारीले बताए ।
बाग्लुङ बजारबाट निकै नजिक ‘बुद्ध हिल’को महत्व बढाउँदै लगेमा बाग्लुङको पर्यटन व्यवसायमा कोसेढुंगा सावित हुने विश्वका सबै राष्ट्रिय गान गाएर विश्व भ्रमणको अभियानमा रहेका रामजी नेपालीले बताए । ‘बुद्ध हिल’को प्रवद्र्धनका लागि नेपालीले ‘बाग्लुङ घुम्न आऊ, बुद्ध हिलैमा’ भन्ने गीतसमेत सिर्जना गर्न लागिएको जानकारी दिएका छन् । रासस