काठमाडौं ।
पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १ सय २० दिनपछि खुलेसँगै संक्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ । यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन ।
कतिले त सामान्य मास्क पनि नलगाई पसेका देखिन्छन् । जसले गर्दा उनीहरु मात्रै होइन परिवार र छरछिमेक पनि उत्तिकै जोखिममा रहेको रहेको अनुमान गाउन सकिन्छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार काठमाडौंको न्युरोड, असन, इन्द्रचोकमा नयाँ बिरामी थपिने क्रम जारी छ तर नागरिक त्यस क्षेत्रमा कुनै पर्वाह नै नगरी पसल सञ्चालन गरिरहेका छन् । जोरबिजोर प्रणाली लागू भए पनि सबै खालका सवारीसञ्चालन भएकै छ । यसले महामारी थप बढ्नका लागि सहयोग पुगेको स्पष्ट हुन्छ ।
यस विषयमा काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले अत्यावश्यकबाहेक अन्य पसल सञ्चालन नगर्न भनिएको बताए । व्यापारीले आलटाल गरिरहेको भन्दै यस विषयमा कामपाले कडा कदम चाल्ने बताउँछन् उनी । प्रवक्ता डंगोलले भने, ‘केही सहज हुँदा सञ्चालन गर्न दिएकै हो, विषम परिस्थिति भएकाले केही दिन अनावश्यक रुपमा बाहिर ननिस्कन र आवश्यक कामका लागि पनि सजह हुन आवश्यक छ । काठमाडौं आफैंमा घना बस्ती भएको स्थान हो । यस्तो स्थानमा संक्रमण जोखिम बढी छ ।’
लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डसमेत पालना नगरेको देखिन्छ । यसले पनि जोखिम बढाएको छ । हालसम्म काठमाडौं उपत्यकामा मात्रै करीब १ हजारको हारहारीमा संक्रमित पुष्टि भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि लागू हुनेगरी २ हप्ताका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
जसका लागि शुक्रबार उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनाका साथै सामाजिक दूरी र सुरक्षाका उपाय नअपनाउनेलाई कारवाही गर्ने पनि निर्णय गरेको छ । रासस