तनहुँको बन्दीपुर गाउँपालिकामा मातृभाषा पाठशाला सञ्चालन हुने

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण सुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिएका छन् । मातृ भाषा बोल्न नजान्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न लागेको हो । यसका लागि गाउँपालिकाले ३ लाख बजेट विनियोजन गरिसकेको छ । उनले भने, ‘लोप हुँदै जान थालेको आदिवासी जनजातिका भाषा संरक्षणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ ।’

पाठशालामा भाषा सिक्न इच्छुक हुने अन्य गैरजातिलाई पनि समावेश गर्न सकिने गरी व्यवस्था मिलाइको छ । विशेषगरी गुरुङ, मगर तथा नेवार समुदायको बाहुल्यता रहेको बन्दीपुरमा आदिवासी जनजातिको भाषा संरक्षणमा सहयोग पु¥याउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । जनजातिको बाक्लो बस्ती रहेको यस गाउँपालिकामा आफ्नो मातृभाषा बोल्न नजान्ने हुँदा भाषा मर्दै गएकाले त्यसको संरक्षण गर्न मातृभाषा कार्यक्रमलाई प्राथामिकतामा राखेर सञ्चालन गर्न लागेको हो ।

बन्दीपुरमा गुरुङ, मगर, नेवारलगायतका विभिन्न जनजातिको बाहुल्यता रहेको छ । नयाँ युवापिँढीलाई आफ्नो संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले मातृभाषा पाठशाला कार्यक्रम सञ्चालनमा ल्याउन खोजिएको हो । मातृभाषा पाठशाला सुरु गर्ने तयारी गरिरहे पनि देशमा भएको विषम परिस्थितिका कारण तत्कालै सञ्चालनमा ल्याउन नसकिएको हो । आफ्नो भाषाप्रतिको मोह बढाउन र संस्कृतिको जगेर्ना गर्न गाउँपालिकाले नयाँ उपाय अवलम्बन गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

लोप हुन लागेको संस्कृतिलाई जीवन्त राख्न गाउँपालिकाले मातृभाषालाई संरक्षण गर्न प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिएका छन् । विभिन्न जनजातिको कक्षा सञ्चालन गरी भाषा संरक्षणका बारेमा जानकारी गराइने छ । भाषा संरक्षण र त्यसको जगेर्नाका लागि चलनचल्तीको भाषा बोल्न लगाइने छ । उक्त मातृभाषा सिक्नका लागि आउने संखया भने यकिन नगरिएको गाउँपालिकाले जनाएको छ । रासस

कमेन्टहरु
Loading...