गन्थन डेस्क
पृथ्वीनारायण क्याम्पस पोखरामा एकदिने अनुसन्धान अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
नेपाली विभागद्वारा आयोजित अनुसन्धानमा सहभागी प्राज्ञहरुले कोरोनाप्रति सचेत हुँदै सामाजिक दूरी अपनाई गोष्ठी आयोजना गरेका थिए । शिक्षण पद्दतिलाई प्रभावकारी गराउने उद्देश्यले आयोजित गोष्ठीमा विभागअन्तरगतका प्राध्यापक, शिक्षकको सहभागिता थियो ।
क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाको प्रमुख आतीथ्यतामा आयोजित कार्यक्रममा सहभागीलाई प्रमुखले समयसापेक्ष विषयमा अनुसन्धान हुनुपर्नेमा जोड दिए । क्याम्पसमा हुने कुनैपनि अनुसन्धानमूलक कार्यलाई सहयोग गर्न सदैव तयार रहेको बताउँदै प्रमुख कोइरालाले शिक्षण पद्दति आधुनिक, व्यवहारमूखी र प्रभावकारी बनाउन सहभागीलाई आग्रह गरे ।
गोष्ठीमा प्राध्यापक यमनाथ तिमिल्सिनाले ‘अनुसन्धान पद्दति र परम्परा’, प्राडा विश्वकल्याण पराजुलीले ‘शोध शीर्षक छनौट र अध्ययन विधि’, प्राडा लेखनाथ भट्टराईले ‘साहित्य सर्वेक्षण र ढाँचा’ विषयक गोष्ठीपत्र पेश गरेका थिए ।
उपप्राध्यापक यादवराज उपाध्यायले उद्घोषण गरेका कार्यक्रममा उपप्राध्यापक गीरबहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए ।
विभिन्न विषयउपर छलफल गरिएको कार्यक्रमको अध्यक्षता प्राडा कुसुमाकर न्यौपानेले गरेका थिए ।