दीपक के श्रेष्ठ
पोखरा । ३६ वर्षअघि हालको सहिद चोकपछाडि खुला मैदान थियो । त्यही मैदानमा २८ वर्षे युवती चारपांग्रे गाडीको ट्रायल दिन लाइनमा बसिन् । सहभागीको नजर उनैमा परे । खासखुस हुन थाल्यो ।
पुरुषको हुलमा उनी एक्ली महिला थिइन् । ट्रायल दिन पुगेकी उनलाई कसैले पत्याएनन् । अझ, ट्रायल पास गर्छिन् भन्नेमा कोही विश्वस्त थिएनन् । तर, यस्तो शंका, उपशंकाबीच उनी बेपर्वाह थिइन् । र, थिइन् आत्मविश्वासी । जसले सहजै ट्रायल पास गर्दै सवारीचालक अनुमतिपत्र लिइन् । उनी थिइन्, इन्दिरा बराल ।
पोखरामा नाम चलेको पराजुली घरानामा जन्मेकी इन्दिराको उसबेला माइतीघरमै ट्याक्सी थियो । घरमा काम परिरहन्थ्यो तर भनेको समयमा चालक नभइदिने कारण उनमा गाडी सिक्ने चाह जाग्यो । चालकका साथ घरकै ट्याक्सी लिएर भेडीफार्म पुगिन् । र, सुरु भयो उनको सिकाई ।
२ दिनमात्र के सिकेकी थिइन् इन्दिराले स्टेरिङ, एक्सिलेटर, क्लच र ब्रेकमा दख्खल राखिन् । उनी भन्छिन्, ‘तेस्रो दिनपछि त आफैं चलाउन थालिहालेँ नि ।’ अब उनलाई चाहिएको थियो सवारी चालक अनुमतिपत्र, जसका लागि उनी तयार थिइन् ।
घरकै ट्याक्सीमा चालकसहित ट्रायल दिन पुगेकी उनले केही दिनमै अनुमतिपत्र हात पारिन् । इन्दिरा बरालले पाएको सवारी चालक अनुमतिपत्रको जारी मितिमा लेखिएको छ, २०४१–०१–०३ ।
अनुमतिपत्रसँगै उनले गण्डकीबाट पहिलो महिला सवारीचालकको इतिहाससमेत रचिन् । ‘मेरो त खुसी पनि दोहोरो भयो,’ बरालले अतीत सम्झँदै भनिन्, ‘पहिलो त मैले गाडी चलाउने लाइसेन्स पाए दोस्रो म पहिलो महिला भएँ ।’
अनुमतिपत्र पाएपछि बराल ३३ नम्बरको निलो हाएस भ्यानमा हुँइकिन थालिन् । एकादुईले कुरा काटे पनि अधिकांश आश्चर्यमा पर्थे । ‘लौ, हेर त, आइमाइले पो गाडी चलाएकी रै’छ’ भन्दै उनलाई हेर्न उसबेला लाइनै लाग्ने गरेको त्यो पल इन्दिराको मानसपटलमा अझै ताजै छ ।
यसलाई उनी सफलतामात्र हैन संघर्ष र अठोटको रुपमा लिन्छिन् । ‘तीन दशकअघिको समयमा विवाहित महिलाले निभाउनुपर्ने भूमिका अनेक हुन्थे,’ उनले भनिन् ‘तर मलाई खासै रोकटोक नहुँदा मैले गाडी सिके, उद्यम गरे ।’
सँधै काम गर्नुपर्छ भन्ने सोच राख्ने इन्दिराले त्यसबेला बुहारीलाई घर बाहिर काम गर्न दिनोस् भन्दै जाँदा एक सम्पन्न परिवारका आफन्तले ‘हामीलाई खान पुग्दैन र काम गर्नु प¥यो’ भन्ने जवाफ दिएपछि नमिठो महसुस भएको सुनाउँछिन् ।
हिजोआज महिलाहरुलाई ड्राइभिङ सिटमा देख्दा प्रफुल्लित हुने बरालको सपना छ, धेरै महिलाहरु गाडी चढ्न सक्ने होउन् ।
गाडी चढ्न सक्ने हुनु भनेको आत्मविश्वासी र उद्यमी हुनु हो भन्दै इन्दिराले महिलाको सक्षमताले समाजमा सँधै सकारात्मक प्रभाव पार्ने बताउँछिन् ।
त्यस्तै, महिला चालकहरु सडक अनुशासनमा पुरुषभन्दा बढी जिम्मेवार हुने उनको ठहर छ । पोखरा बाहिर उत्तिकै गइरहने बरालको अनुभवमा जेब्राक्रस, ट्राफिक संकेतहरुको उचित व्यवस्थापन नहुँदा हिजोआज दुर्घटना बढ्दै गएको हो ।
‘पहिला यस्ता संकेत त्यति थिएनन्, अहिले भएर पनि प्रयोग हुँदैनन्,’ उनी भन्छिन् ‘सडकमा यात्रु होस् वा चालक, दुबैले पेलेर जाने प्रवृत्ति हाबी छ ।’
आजको जमानामा गाडी चढ्नु विलासिता नभई खाँचो ठानेकी इन्दिराले कामकाजी महिलालाई गाडी अत्यावश्यक भएको बताउँछिन् । कुनै पनि स्थानमा समयमा पुग्न सकिने, कसैसँग लिफ्ट माग्न नपर्ने, सुरक्षित महसुस हुने भएकाले गाडीको महत्व बढेको उनको बुझाइ छ ।
‘अहिले त किस्तामा पनि गाडी चढ्न पाइन्छ, पहिलेको जस्तो पैसाको अभावले रहर मार्नु पर्ने बेला छैन,’ उनले भनिन् ।
पहिलो अनुमतिपत्रवाहक चालकमात्र नभएर इन्दिराको ‘फस्र्ट’ रेकर्ड उद्यममा पनि छ । पोखराको राष्ट्रबैंक चोकस्थित माउन्टेन वे ट्रेकिङको निर्देशक भएर उनले पहिलो उद्यमीको इतिहास बनाएकी छिन् । त्यसबेला लेकसाइडभन्दा पर्यटन उद्यम ड्यामसाइडमा फस्टाएको थियो ।
अध्ययनपछि जागिरे हुनुभन्दा व्यवसाय हुने सोचले हुटहुटी जगाएपछि इन्दिराले २०४२ सालमा आफ्नो नाममा टे«किङ अफिस दर्ता गरिन् । जहाँ ३३ नम्बरको हायस भ्यान चलाएर उनी आफै सेवा दिन्थिन् ।
त्यसबेला पर्यटकले भन्ने गरेको ‘हाउ अमेजिङ’ र ‘प्राउड अफ यु’ उनका लागि जीवनकै ठूलो कमाइ भएको बरालले सुनाइन् । ‘नेपाली समाजबाट खासै तारिफ सुनिदैन थियो तर उनीहरुले भन्ने शब्दले मलाई अनौठो उर्जा दिन्थ्यो,’ इन्दिराले भनिन् ।
हायस भ्यान र ट्रेकिङ कम्पनी एकसाथ चलाउन थालेकी इन्दिराको जीवनशैली त्यसबेलाको पोखरामा ‘अचम्म’ नै थियो । तर उनको जीवनशैलीलाई यसले झनै जिम्मेवार बनायो । तब उनले समाजसेवाको बाटो रोजिन् ।
‘मलाई त पुगिसरी भयो, समस्या थिएन,’ केही गम्भीर हुँदै उनले भनिन्, ‘तर, मेरो काम र व्यवसायले मेरो उन्नति गराए पनि समाज स्थिर थियो, सम्पन्न परिवारकै महिलाको हालत पनि गतिलो थिएन ।’ त्यही चिन्ताले इन्दिरा लगायत केही लायन्स क्लबमा आबद्ध हुन चाहे । लायन्सपत्नीलाई ‘लायोनेस’मात्र भनिने परिपाटीलाई उनीहरुले तोड्न चाहे ।
इन्दिरासँगै शिला थापा, सीता पाण्डे लगायतको समूहले महिलामात्रै संलग्न लायन्स क्लब स्थापना गर्न क्लबको मुख्यालय अमेरिकाको सिकागोमा निवेदन दिए । जुनबेला अमेरिकी महिलासमेत लायन्स हुन पाउनुपर्ने भन्दै अदालत पुगेका थिए ।
अदालतले महिलाको पक्षमा फैसला गर्दा पोखरेली चेलीहरुको निवेदन पुगिसकेको थियो । यसरी विश्वमै पहिलो महिला लायन्स क्लब हुने सौभाग्य पायो पोखराको ‘लायन्स क्लब अफ पोखरा गण्डकी’ले । जसले २८ औं वार्षिकोत्सव मनाइसकेको छ । क्लबको यो रोचक इतिहासले इन्दिरालाई लायन्सको स्थापनामा पनि ‘पहिलो’ को श्रेणीमा राखिदिएको छ ।
साँघुरिँदै गएको सडक र पार्किङसँगै बराल हाल हायसको साटो भारतीय गाडी अल्टोमा सयर गर्छिन् । हाल उनले चलाइरहेको गाडी तेस्रो हो । सानो गाडी चलाउन सजिलो भएकाले अल्टो नै प्रिय भएको उनी बताउँछिन् ।
आजसम्म ट्राफिक कारबाही पर्नुभएको छ कि छैन भन्ने सोधाइमा इन्दिराले भनिन्, ‘एक पटक नो पार्किङमा ।’