प्रदेश नं २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

पोखरा ।

लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ संक्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७ सय ८१ नयाँ संक्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल संक्रमित रहेका ४ हजार २ सय ६४ संख्या आज ५ हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा हालसम्म यो व्याधीले १९ जनाको ज्यान लिइसकेको छ ।

साउन ७ गतेयता संक्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्दै छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै ७ दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जिल्लाभरमै लागू गरेको छ । पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा ३ दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी ७ दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।

लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी संक्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटे यता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी संक्रमण जोखिममा देखिएका छन् ।

यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ संक्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसिआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

यस क्रममा प्रादेशिक अस्पतालमा पिसिआर मेसिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५ सय श्ययाको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ । अब पिसिआर जाँच बढाउँदै दैनिक १ हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पु¥याइने मन्त्री यादवले बताएका छन् ।

प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म १ हजार २ सय ५९ मा संक्रमण पुष्टि भएको छ । यद्यपि लकडाउन हटेयता त्यहाँ संक्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । रौतहटमा लकडाउन हटेयता ५ जनामात्र संक्रमित बढेका छन् । पछिल्लो पटक लकडाउन हटेको साउन ७ देखि २० गतेबीचको १४ दिनमा पर्सा जिल्लाको संक्रमण निकै बढेको छ । त्यहाँ यस अवधिमै ३ सय ९८ नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी यसै अवधिमा सप्तरीमा १ सय ३६, धनुषामा १ सय २७ र महोत्तरीमा ८७ नयाँ सङक्रमित थपिएको मन्त्रालयको अभिलेखले देखाएको छ ।

तथ्यांक अनुसार अहिलेसम्म महोत्तरीमा ८ सय ३८, धनुषामा ७ सय ४१, सर्लाहीमा ७ सय १२, पर्सामा ५ सय ७५, सप्तरीमा ५ सय २२, सिरहामा २ सय १५ र बारामा १ सय ७८ संक्रमण पुष्टि भएको छ । लकडाउन हटेयताको अवधिमा कम संक्रमण देखिएका जिल्लामा रौतहटका अतिरिक्त सर्लाही, सिरहा र बारा छन् । यस अवधिमा सर्लाहीमा ५, सिरहामा ८ र बारामा १५ मा संक्रमण पुष्टि भएको छ ।

प्रदेशभित्र हालसम्म (मंगलबारसम्म) ६२ हजार २ सय ८८ जनाको स्वाब परीक्षण गरिएको छ । यसमा ५४ हजार ७ सय ५ को जाँच नतिजा नेगेटिभ छ । प्रयोगशालाबाट नतिजा आउन बाँकी २ हजार ५ सय ३८ छन् ।

प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको संख्या तीन हजार २ सय ११ पुुगेको छ । अहिले दुई हजार २ सय ३७ आइसोलेसन श्यया छन् । यिनमा ६ सय ८० जनाको उपचार हुँदैछ । तीमध्ये ३ सय ६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ ।

लकडाउन अवधिमै पनि प्रदेशमा सुरक्षा सतर्कता अत्यन्त कमजोर स्थितिमा रहेको र पछिल्लो चरणमा लकडाउन हटेपछि झनै जताततै भीडभाड बढेको छ । सीमाक्षेत्रमा दोहोरो आउजाउ बढेको र हिँडडुलमा लापरवाही बढेपछि संक्रमण जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन् । खासमा शारीरिक (भौतिक) दूरीको निर्वाह नगरिँदा, मास्कको प्रयोग नहुँदा, बजारहाटमा भीडभाड बढ्दै जाँदा र सीमाक्षेत्र वारपारको बाक्लो ओहोरदोहोर बढ्दा संक्रमण जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ । रासस

कमेन्टहरु
Loading...