पोखरा, साउन १६ ।
पुतलीबजार नगरपालिकामा एकाएक संक्रमितको संख्या बढेपछि कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १४ देखि स्याङ्जा जिल्ला बन्द गर्ने निर्णय गरेको थियो । बैठकले साउन २३ गतेसम्म जिल्ला बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयको सो निर्णयसंगै स्याङ्जा बजार सुनसान छ ।
कपडा पसल, रेस्टुरेन्ट केही आवश्यक खाद्यान्न पसल बाहेक सबै बन्द रहेका छन् । एकैपटक सुरक्षाकर्मीमा पनि संक्रमण बढेकोले लकडाउन कार्यान्वयन गर्न बाटोमा सुरक्षाकर्मी देखिदैनन् ।
तर नागरिक स्वतस्फूर्त सबै आआफ्नै घरमा बसेको पाइन्छ । एक्कासी संक्रमणको संख्या कसरी र कताबाट बढ्यो भन्ने यकिन नभएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख गंगाबहादुर क्षेत्रीले बताए । ‘अब कन्ट्याक ट्रेसिङ गरिरहेका छौं, लकडाउन कार्यान्वयनमा हिंड्दा मानिससँग बढी घुलमिल हुनुपर्छ, बाढिपहिरोको बेला उद्धारमा खटिदा वा अन्य कुनै स्थानबाट संक्रमण फैलिएको हुन सक्छ ।’ क्षेत्रीले भने ।
तर समुदाय स्तरमा संक्रमण फैलिइ सकेको भनेर अहिले नै भन्न नमिले उनको भनाइ छ । सरकारले लकडाउन अन्त्य गरेको अवस्थामा बजारमा रहेको चहलपहल, सुरक्षा मापदण्डमा गरिएको लापरबाहीले थप जोखिम निम्त्याएको छ । स्याङजामा हालसम्म ३९ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् ।
यसै गरी पछिल्लो अद्यावधिक विवरण अनुसार स्याङजामा २ सय ५२ जना कोरोना संक्रमित पुगेका छन् भने १ सय ८८ निको भएर घर फर्केका छन् । कोरोनाका कारण २ जनाको मृत्यु भएको छ ।