पोखरा, १ साउन / पोखरा ३० लेखनाथको मोहोरिया स्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएर संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन गरेको छ । बुधबार एक कार्यक्रमका बीच समुदायले प्रदेशलाई अस्पताल हस्तान्तरण गरेको हो ।
नेपाल सरकारबाट १५ बेडको स्विकृति पाएको अस्पतालसँग ५० बेड क्षमता छ । प्रदेश सरकारले यसअघि कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेपनि पूर्वाधार र उपकरण अभावले त्यो सम्भव भएन । पछि निर्णय नै फेरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बागलुङको धवलागिरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाईएको थियो । कोभिडका कारण पूर्ण क्षमतामा अस्पताल चल्न सकेको थिएन ।
समुदायले चलाएको भएपनि बेलाबखत आर्थिक अभाव देखिएका कारण अस्पताल सरकारलाई दिन समुदाय तयार भएको थियो । सरकारले सबै स्वामित्व आफु मातहतबाट चलाउने निर्णय गरेपछि समुदायले हस्तान्तरण गरिदिएका हुन् । अस्पतालको स्वामित्व बुझ्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पताललाई सुविधा सम्पन्न बनाउने घोषणा गरे । उनले जनशक्ति, पुर्वाधार विकास र प्राविधिक रुपमा सक्षम बनाउने बताए ।
आधुनिक उपकरण, अपरेसन थिएटर लगाएतका काम पछिल्लो समयमा भएको ब्यवस्थापन समितिका अध्यक्ष रमनाथ पौडेलले बताए । उनले अस्पतालमा हाल चिकित्सक र कर्मचारी सहित ४२ जनाकार्यरत छन् । बहिरंग र अन्तरंग दुवै सेवा दिँदै आएको अस्पतालमा दैनिक ७० जनासम्मले सेवा लिने गरेका छन् । अस्पतालमा हाल १० लाख मासिक खर्च हुने पौडेलले सुनाए ।
१ सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताललाई थप जग्गा आवश्यक परे वन क्षेत्रबाट लिन सकिने गरी पहिले नै सहमति भैसकेको उनको भनाई छ । २०६० मा महायज्ञ लगाएर खुलेको अस्पतालमा २०६२ देखि विरामीको जाँच सुरु भएको थियो । संघ सरकारले ७ वटै प्रदेशमा संक्रामक रोग अस्पताल बनाउने घोषणा छ ।
कोरोना भाइरसको जोखिम बढिरहेका बेला सरकारले संक्रामक रोग उपचारका लागि विशेष अस्पताल बनाउने घोषणा गरेको हो । संघ सरकारले यसैलाई टेवा पुग्ने गरी ७ वटै प्रदेशमा कम्तिमा ५० बेडको संक्रामक रोग अस्पताल बनाउने घोषणा ग¥यो । गण्डकी सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक बर्ष २०७७/०७८ को बजेटमा ५ करोड विनियोजन ग¥यो । आर्थिक बर्षको सुरुमै अस्पताल सञ्चालनको प्रक्रिया सुरु भएको छ ।