काठमाडौं, ३१ जेठ / सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ ।
कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा खर्च भएको जनाइएको छ ।
नेपालमा पहिलो संक्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ ।
भारत लगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारन्टिनमा रहेका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ ।
यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टिन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।