पोखरा, ११ पुस/ नदीपुर युनाइटेड क्लबको आयोजनामा भएको दोस्रो नदीपुर एमेच्योर फुटसल टुर्नामेन्टको उपाधि यति फुटसल क्लब मुग्लिङले जितेको छ ।
पोखराको गणेशटोलस्थित बी फिट फुटसलमा शुक्रबार फाइनलमा ब्रदर्श युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि सहित नगद ४० हजार, ट्रफी, मेडल र प्रमाण हात पारेको हो । उपविजेता ब्रदर्शले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
निर्धारित १२/१२ मिनेटको खेलमा दुवैतर्फ समान १ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । यस्तै, ब्रदर्शका अखिलेस कार्की उत्कृष्ट खेलाडी हुँदै फुटसल जुत्ता पाए भने यतिका अशोक तामाङ उत्कृष्ट कीपर हुँदै फुटसल ग्लोब जिते ।
हाम्रो फुटबल क्लबलाई फेयर प्ले उपाधि दिइयो । २ दिनसम्म चलेको प्रतियोगितामा ३० टिमको सहभागिता थियो । फाइनलमा म्यान अफ दी म्याच सुमन कार्की बने ।
विजयीलाई पोखरा ३ का वडाध्यक्ष रवीन्सन प्रजु, कास्की जिल्ला फुटसल संघ अध्यक्ष सञ्जय लिगल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव विजय नेपाल, प्रतियोगिता संयोजक रोविन मानन्धर लगायतले पुरस्कार वितरण गरेका थिए ।
स्वास्थ्यका लागि फुटसल नाराका साथ भएको प्रतियोगिताको मुख्यप्रायोजक अर्जुन गुरुङ हुन् । सो अवसमा ह्याण्डबल खेलाडी विशाल बस्नेत, दिनेश श्रेष्ठ, सुरज देवकोटा र विशाल नेपालीलाई सम्मान गरिएको क्लब सचिव सरोज जलारीले बताए ।