पोखरा २२, जेठ / पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ स्थित मनकामना टोलमा रहेको मनोहर युवा क्लबले विश्व वातावरण दिवसको दिन मंगलबार क्लबले निर्माण गरेको मनोहर पार्कमा वृक्षारोपण गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले पार्कभित्र पामको विरुवा वृक्षारोपण गरी उद्घाटन गरे । वडाध्यक्ष कार्कीले क्लबले राम्रो कार्य गरेको भन्दै प्रशंसा समेत गरे ।
क्लबका वरिष्ठ सल्लाहकार जे.वी. कुँवर, संस्थापक अध्यक्ष एवं सल्लाहकार ललित बानियाँ, सल्लाहकार बोधबहादुर कार्की, सल्लाहकार रोमबहादुर कार्की लगायतले क्लबले विश्व वातावरण दिवसको दिन पारेर वृक्षारोपण कार्य गरेकोमा खुशी व्यक्त गर्दै क्लबले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा समेत गरेका थिए । उनीहरुले क्लबले गर्ने हरेक क्रियाकलापमा आफूहरुले सधै साथ दिने र अझ क्लबको कामलाई उच्च राख्न क्लब परिवारलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रमका अध्यक्ष एवं मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी.ले मनोहर युवा क्लबले मनकामना टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गरी पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय, प्रस्तावित एयरपोर्टको कार्यालय, स्थानीयबासी लगायत विभिन्न निकायहरुको सहयोगमा पार्क निर्माण, पार्कलाई हरियाली बनाउने काम गरेको र पार्कको काम अन्तिम चरणमा रहेको बताए ।
जि.सी.ले क्लबले साविक वडा नं. १८ हालको १४ बाच्छे बुडुवामा ल्याण्डफिल्ड साइड सञ्चालन वापत क्लबको नाउँमा वार्षिक रुपमा वडा कार्यालय मार्फत विनियोजन हुने रकमलाई महानगरपालिकाबाट ल.ई. गरी पार्क निर्माणको कामलाई निरन्तरता दिंदै आएको जनाए ।
अध्यक्ष जि.सी.ले निकट भविष्यमै पार्कमा रहेको प्रतिक्षालयमा रंगरोगन एवं ढुंगा विछ्याउने काम गरेपछि पार्कको विधिपूर्वक उद्घाटन गर्ने प्रक्रियाका लागि आफू आतुर रहेको समेत बताए । पार्कमा हाल पाम, अशोका, धुपी लगायतका विरुवाहरु रोपिएको छ ।
मनोहर युवा क्लबका अध्यक्ष रामजी जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिव रविकिरण पराजुलीले सञ्चालन र स्वागत मन्तव्य समाज सुधार आमा समूहकी अध्यक्ष लक्ष्मी जि.सी.ले गरेकी थिइन ।