पोखरा, ३० साउन/पोखरा उद्योग वाणिज्य संघले देशका विभिन्न भागमा आएको बाढी पहिरोबाट पीडितहरुको सहयोगार्थ ‘ पोखरा बाढी पीडित राहत कोष’ स्थापनाको घोषणा गरेको छ ।संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले रेडियो अन्नपूर्णसँगको सहकार्यमा सो कोषको घोषणा गरेको हो ।कोषमा संघको तर्फबाट १ लाख बिउ पूँजी राखिएको छ भने संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले सो कोषमा जनही दुई हजार सहयोग थप गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।
संघको बैठकले राहत कोषमा सहयोग गर्नको लागि देभभरका उद्योग वाणिज्य संघहरु, पोखरास्थित सम्पूर्ण बस्तुगत संघहरु, उद्यमी÷व्यवसायीहरु, बैक तथा वित्तिय संस्थाहरु, सामाजिक संघ÷संस्थाहरु,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु तथा आम नागरिकमा हार्दिक अपील समेत गरेको छ । संघका महासचिव दामु अधिकारीका अनुसार सामाजिक उत्तरदायित्वपूर्ण यो अभियानमा सहकार्य गर्न चाहने संघ संस्थाहरुसँग सहकार्यको लागि संघ तयार रहेको छ ।
राहत कोषको लागि बैंक खाता खोलिने र संकलित रकम स्थानीय राहत व्यवस्थापन समितिहरुमार्फत पीडितहरुसम्म पु¥याइने उनले जनाए । संघको बैठकले बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुका परिवारप्रति समवेदना समेत प्रकट गरेको छ । संघले बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा सहयोगमा खटिन आम नागरिकहरुसँग हार्दिक आह्वान पनि गरेको छ ।