पोखरा, ४ साउन/करातेका प्रशिक्षक हरि खड्काले आफ्नो क्याफेबाट आम्दानी भएको केही रकम खेल क्षेत्रमा दिने घोषण गरेका छन् । पोखरा–६ लेकसाइड लालुपाते मार्ग बाराहि मिनी मार्केटभित्र रहेको रिच टेस्ट क्याफे एन्ड बारबाट आउने मासिक आम्दानीको ५ प्रतिशत रकम खेल क्षेत्रलाई दिने भएका हुन् ।
आफूले पनि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलमा सहभागी भई देशका लागि पदक ल्याएका खड्काले खेलाडीको मर्मलाई बुझ्दै सहयोग गर्ने मनशाय बनाएको बताए । ‘हाम्रो पालामा राम्रो खेलाडीहरु आर्थिक अभाव भएकै कारण विदेश खेल्न जान पाउथेनन्,’ उनले भने, ‘मेरो यो सानो सहयोगले आर्थिक अभाव भएको खेलाडीलाई अवसर मिल्छ भन्ने विश्वास गरेको छु ।’
एक दशकभन्दा बढी खेलमा बित्ताएको हुनाले उनलाई खेलाडीको पीडा राम्रोसँग थाहा छ ।
‘केही रकम हामीले यसरी जम्मा भएकोबाट दिने र केही रकम खेलाडीले हाल्यो भने खेल क्षेत्रमा थोरै भएपनि सकारात्मक परिवर्तन आउने छ,’ उनले भने, ‘मेरो व्यापार रहुन्जेल म यो रकम खेल क्षेत्रको नाममा छुट्याउने छु ।’ व्यवसायी खड्का नेपाल क्याम्पोकाईका प्रमुख प्रशिक्षक हुन् भने उनले २०६१ सालमा राष्ट्रिय खेलमा स्वर्ण पदकसमेत जितेका थिए ।
उनका अनुसार मासिक १ लाखको आम्दानी गरे भने त्यसको ५ प्रतिशत भनेको ५ हजार हुन्छ ।
‘त्यो रकम अक्षयकोष खडा गर्न सकिन्छ,’ उनले भने, ‘अरुले पनि सहयोग गर्न सक्छन् ।’ खड्काले असार १६ गतेदेखि क्याफे सञ्चालन गरेको बताए । ‘हामी खानपान बाहेक गुणस्तरीय सेवालाई विशेष जोड दिनेछौ,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको होम डेलिभरि हो ।’ करिब ८ लाखको लगानीमा सञ्चालन गरेको क्याफेमा सबै प्रकारका सी फुड पाइने सञ्चालक खड्काले बताए ।