ओम र मनास्लुको एकीकृत कारोबार सुरु, चुनावसँगै विकास निर्माणले गति लिन्छ ः गभर्नर डा. नेपाल

पोखरा, २ असार/नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले स्थानीय तहको चुनावसँगै विकास निर्माणले गति लिने र आर्थिक क्रियाकलाप पनि उत्तिकै बढ्ने बताएका छन् । बाँकी प्रदेशको चुनाव सम्पन्न भैसकेपछि अब सात सय ४४ तह व्यापारिक केन्द्र बन्ने, रोजगारी वृद्धिसँगै आर्थिक क्रियाकलाप बढ्ने उनको भनाइ छ ।

ओम डेभलपमेन्ट बैंक लि. र मनास्लु विकास बैंक लि.मर्ज भई ओम डेभलपमेन्ट बैंक लि.को नामबाट हुने संयुक्त कारोबारको पोखरामा शुक्रबार उद्घाटन गर्दै डा. नेपालले त्यस्तो बताएका हुन् । उनले भने, २० वर्षपछि भएको चुनावले तपाई हामीले नसोचेको विकास र निर्माणसँगै आर्थिक क्रियाकलापले फड्को मार्ने छ । गभर्नर डा नेपालले गाउँ गाउँमा बैंक तथा वित्तीय संस्था खोल्न त्यत्ति सजिलो नभएको स्पष्ट पारे । सरकारले केही दिनअघि २ महिनाभित्र वाणिज्य बैंकको शाखा हरेक स्थानीय तहमा स्थापना गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।

कार्यक्रममा बैकका अध्यक्ष सुशिल कुमार गोशली, बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजु, साविक मनास्लु विकास बैंकका अध्यक्ष तथा बर्तमान सञ्चालक बिजय मल्ल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, डेभलपमेन्ट बैंकर एसोशियसन नेपालका अध्यक्ष भरत ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष आनन्द ाज मुल्मि र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि.लगायत बोलेका थिए ।

मर्जरपछि बैंकको चुक्ता पुंजी करिब १ अर्ब ६६ करोड, निक्षेप १५ अर्ब ४० करोड, कर्जा १३ अर्ब ८० करोड, शाखा संख्या ४१, कर्मचारी संख्या ३२७, निक्षेप ग्राहक १ लाख ९८ हजार, कर्जा ग्राहक २५ हजार १ सय, एटिएम ग्राहक १५ हजार र मोवाईल बैंकिङ्ग ग्राहक ३७ हजार ५ सय पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...