पोखरा, ३० जेठ/तमु भाङ्ग्रा हस्तकला उद्योगले पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा सोमवारदेखि तमु आमाहरुलाई दुई महिने भाङ्ग्रा बुनाई तालिम शुरु गरेको छ । तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाको सामाजिक शाखा प्रमुख दुर्गा न्यौपानेले तमु आमाहरु लैंगिक विभेदको अन्त्य र आर्थिक अभियानमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले तमु समाजमा एकता, सद्भाव, हार्दिकता, महिलालाई सम्मान छ भने विश्वलाई बीर गोर्खालीबाट चिनाउने समुदायका आमाहरुले आफ्नै मौलिकताको संरक्षण, सँस्कृतिको उजागर, आर्थिक रुपमा स्वावलम्वी र महिलाका मुद्धामा एक हुनुपर्दछ भन्नुभयो । तालिम सम्पन्नसँगै तमु महिलाहरु उद्यमी र सँस्कृतिको संरक्षक बन्दै अन्य समुदायका लागि उदाहरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमुले शुभकामना व्यक्त गर्नुहुदै आमाहरुलाई तालिमले स्वावलम्बी, सँस्कृतिको सरक्षक, उद्यमीका साथै सामाजिक परिवर्तनका संवाहकको रुपमा विकास गराउने विश्वास व्यत्त गर्नुभयो । उहाँले विगतमा पोखरा लेखनाथ महानगरपालिकाको बजेट सम्बन्धीत क्षेत्रमा खर्च हुन नसकेर फ्रिज भईरहेकाले अबका दिनमा त्यस्तो अवस्था नआओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
तमु धिं नेपाल आमा समुहकी अध्यक्ष हरिमाया गुरुङले तमु आमाहरुको लागि अत्यन्तै उपयोगी भाङ्ग्रा बुनाई तालिमले प्रशिक्षार्थीहरुलाई आत्म निर्भर बनाउने बताउनुभयो । उहाँले सीप र विद्या अमर हुने भएकाले जीवनको अन्तिम अवस्थासम्म ज्ञानका लागि आमाहरु तयार रहनुपर्ने बताउनुहुदै महिला एकतालाई समेत जोड दिनुभयो । तमु प्ये ल्हु संघ कास्कीकी सचिव विष्णु गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तालिमले तमु भेष भुषाको जगेर्ना, पोशाकमा एक रुपता ल्याउनुका साथै तमु एकतामा टेवा पुग्ने बताउनुभयो ।
स्वस्तिक हस्तकला उद्योगको सञ्चालक सीता गुरुङले शुभकामना व्यक्त गर्नुहुदै मौलिक पोशाकको संरक्षण, आया आर्जनको माध्यम, नयाँ पुस्तालाई परम्परागत सीप हस्तान्तरणमा तालिमले भुमिका खेल्ने बताउनुभयो । उहाँले मौलिक पोशाकको बजारीकरणका लागि उद्योगहरुले योजना बनाउनुपर्ने सुझाव दिनुभयो । कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङले मौलिक पहिचान संरक्षण, उद्यमशीलता, एकताका साथै तमु आमाहरुलाई क्षमतावान बनाउने बताउनुभयो ।
महानगरपालिकाले पहिलो पटक भाङ्ग्रा बुन्ने तालिममा सहयोग गरेकाले वर्षकै उत्कृष्ट तालिमको रुपमा सञ्चालन गर्न आयोजकहरुलाई सुझाव दिनुभयो। गोर्खाली एफएमकी स्टेशन मेनेजर खिमा गुरुङले तालिमले सीप अभिवृद्धि गरी उत्पादित भाङ्ग्राले बजार पाउने विशवास व्यक्त गर्नुभयो । कार्यक्रममा तमु भाङ्ग्रा हस्तकला उद्योगकी सञ्चालक पवित्रा देवी गुरुङले तालिमको बारेमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार तमु धिं नेपाल आमा समिति र तमु प्ये ल्हु संघ आमा समितिको २० जना आमाहरुलाई २ महिनासम्म परम्परागत तानबाट बुन्ने, बुट्टा हाल्ने, हाते मेसिनबाट भाङ्ग्रा बुन्ने,कछाड बुन्ने तालिम प्रदान गरिनेछ ।