सुरेन्द्र पौडेल
पोखरा, २८ जेठ /कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित धम्पुसमा सुविधा सम्पन्न रिसोर्ट निर्माण सुरु गरेका छन् । युवा व्यवसायी यदुनाथ अधिकारीले रिसोर्ट निर्माण सुरु गरेका हुन् । कास्कीको पर्यटकीय क्षेत्र मध्येमा पर्ने धम्पुसमा सुविधा सम्पन्न रिसोर्टको महसुस गरी लगानी गरेको अधिकारीले बताए ।
निर्माण सुरु भएको होटललाई ‘अन्नपूर्ण धम्पुस रिसोर्ट प्रालि’ नामबाट ब्राण्डिङ गरिने अधिकारीले जानकारी दिए । ‘रिसोर्ट निर्माण सुरु भइसकेको छ,’ उनले भने, ‘एक वर्षभित्रमा रिसोर्ट तयार हुनेछ ।’ करिब ४ रोपनी जग्गामा निर्माण सुरु भएको रिसोर्टमा सुविधा सम्पन्न २० वटा कोठा हुनेछन् । कार्यक्रमका लागि सभाहल समेत तयार पारिने उनले बताए ।
गाउँका पुराना संस्कृति झल्कने लोकउन्मुख बस्तुको संग्राहलयसहितको रिसोर्ट बनाउन लागिएको हो । ‘आधुनिक गार्डेन, बुद्धको स्ट्याचु, पुरानो शैलीको गोलाकार घर पनि रिसोर्टको आकर्षणमा पर्नेछन्,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरी रिसोर्ट बनाउन लागिएको हो ।’ स्टार होटल सरहको सेवा सुविधा उपलब्ध गराउने गरी बनाउन लागिएको रिसोर्टमा पहिलो चरणमा ५ करोड रुपैयाँ लगानी हुने अधिकारीले जानकारी दिए । ‘धम्पुसमा पर्यटन उद्योगको निकै राम्रो सम्भावना छ,’ उनले भने, ‘यहाँ आउने पर्यटकलाई स्तरीय सुविधा प्रदान गर्ने दायित्व हाम्रो हो । यही दायित्व पुरा गर्न स्तरीय रिसोर्ट बनाउँदैछु ।’
पोखरा भित्र होटलमा धेरै लगानी भइरहेको अवस्थामा वरपरको क्षेत्रमा लगानी गर्न उचित ठानेको अधिकारीले बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका अधिकारी अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिका अध्यक्ष, पोखरा रियलस्टेट प्रालिका प्रवन्ध निर्देशक, पोखरा रेसिडेन्सी प्रालिका अध्यक्ष र एलिसा इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष समेत हुन् ।