पोखरा, २८ चैत/ पोखराको कोमागाने पार्कमा चैत २९ गतेबाट संचालन हुने चौधौं फेवा नव वर्ष महोत्सव २०७४ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवका आकर्षण र कार्यक्रमहरुबारे जानकारी गराएको थियो । पाँच दिने महोत्सव आगामी बैशाख २ गतेसम्म चल्ने छ ।
पर्यटन, संस्कृति र खानालाई केन्द्रित गरी आयोजना हुने महोत्सवमा खानाका १५ र ४५ वटा ब्यापारिक गरी ६० स्टलहरु रहने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए । फेवा तालको संरक्षण गरौं भन्ने नाराका साथ आयोजना हुने महोत्सवले नेपाली संस्कृतिको रक्षा गर्ने उद्धेश्य पनि बोकेको संयोजक तुलाचनले सुनाए ।
संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवा महोत्सव संघको मात्र नभई सम्पूर्ण पोखरेलीको महोत्सव भएको बताए । सामान्य देखि पाँच तारे होटलका परिकार एउटै थलोमा चाख्ने अवसर समेत महोत्सवले उपलब्ध गराउने उनले सुनाए । नेपाल पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठले महोत्सव सफलताको कामना गर्दै परिस्कृत ढंगले महोत्सवलाई अगाडि बढाउन सुझाव राखे ।
महोत्सव उद्घाटन अघि विहान साडे १० बजे लेकसाइड स्थित खहरेचोकबाट सुरु हुने झाँकी सहितको र्याली महोत्सव स्थल कोमागाने पार्कमा पुगी सभामा परिणत हुने संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । यसैगरी महोत्सवको क्रममा चैत ३० गते आठ बजे बसुन्धरा पार्कबाट डुंगा दौड र ३१ गते हल्लनचोकबाट पर्यटक दौड सुरु हुने छ । ३१ गते नै मध्यरात १२ बजे नयाँ वर्षको स्वागत कोमागाने पार्कमा गरिने कार्यक्रम छ ।