पोखरा, ८ चैत /इको पार्टी नेपालको आयोजनामा प्रयोग भएका प्लाष्टिकबाट हस्तकलाका सामाग्री बनाउने तालिम मंगलबार देखि पोखरामा सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा आयोजित तालिम चैत १५ गतेसम्म चल्नेछ । तालिममा वडा नं १०, १२ र १३ का करिब ६० जना महिलाहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिकाका वातावरण शाखा प्रमुख निर्मलमान सिंह भण्डारीले फोहोरको उत्पादन हामीबाटै हुने भएकाले यसको व्यवस्थापन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो भन्दै फोहोरको उचित व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
बढ्दो फोहोरका कारण नदी तथा पानीका स्रोतहरु पनि प्रदुषित बन्दै गइरहेको भन्दै भण्डारीले प्राकृतिक स्रोत र सम्पदाको संरक्षणका लागि फोहोरको उचित व्यवस्थापन जरुरी रहेको बताए । यस्तै तालिमबाट सिकेको सीप आफूमा मात्र सिमित नराखी अरुका लागि पनि उपलब्धिमुलक बनाउन तालिममा सहभागीहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ का सचिव श्रीकान्त तिमिल्सिना, पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग, नेपाल परिवार नियोजन संघ, कास्की प्रमुख नवराज अधिकारी, अपाङ्गता स्वाबलम्बन विकास संघ, डिडा नेपालका कार्यकारी प्रमुख गिरीधारी सुवेदी, सञ्चारकर्मी शान्ति गुरुङ्ग, वडा नं १० महिला समन्वय समितिका अध्यक्ष निर्मला भण्डारीले प्लाष्टिकजन्य फोहोरको व्यवस्थापनका साथै यस्ता सीपमुलक तालिमले महिलाहरुलाई आयआर्जनको पाटोमा लाग्न पनि सहयोग पुग्ने बताए ।
इको पार्टी नेपालका अध्यक्ष धना गुरुङ्गको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा इको पार्टी नेपालका उपाध्यक्ष शान्तादेवी गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सचिव विष्णु गुरुङ्गले कार्यक्रम सञ्चालन गरेकी थिइन् । तालिममा सहभागीहरुलाई प्लाष्टिकबाट चकटी, डोर म्याट, बास्केट, फूलदानी, ह्याट लगायतका सामाग्री बनाइन सिकाइने छ । तालिमको प्रशिक्षकमा मीना गुरुङ्ग र माया गुरुङ्ग रहेका छन् ।