काठमाडौ, २९ फागुन /मागको ६५ प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदा काठमाडौ सहित देशभर खाना पकाउने ग्यास अभाव सुरु भएको छ। नेपालमा मासिक ३५ हजार मेट्रिक टन ग्यासको माग भए पनि पछिल्लो समय करिब २१ हजार मेट्रिक टनको हाराहारीमा आयात भएको छ। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
मागअनुसार भारतबाट ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता बजारमा अहिले ग्यासको अभाव बेहोर्न बाध्य भएका छन्। खाली हुनेबित्तिकै सिलिन्डर साट्दै आएका उपभोक्ताले अहिले भरिएको सिलिन्डर लिन तीनदेखि पाँच दिनसम्म कुर्नुपर्ने भएको छ।
भारतको बरौनीस्थित ग्यास रिफाइनरी केन्द्र इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मेन्टिनेन्स गर्ने नाममा १० दिनदेखि पूर्ण रूपमा बन्द गरेको छ। उक्त केन्द्र बन्द हुँदा त्यहाँबाट आउने ग्यास बुलेट आउन बन्द भएको छ। कुल ग्यासको मागमध्ये करिब ३५ प्रतिशत बरौनी रिफाइनरीबाट र बाँकी हल्दिया, पारादिप, मथुरा र कर्णालस्थित रिफाइनरीबाट आपूर्ति हुन्छ। सामान्य समयमा बरौनीबाट मासिक १४ हजार मेट्रिक टन ग्यास आपूर्ति हुन्थ्यो।
संघका अर्का उपाध्यक्ष कुशप्रसाद मल्लीका अनुसार सामान्य समयमा मासिक नौ हजार मेट्रिक टन ग्यास लोड दिने हल्दिया रिफाइनरीले पछिल्लो एक महिनादेखि ५० प्रतिशतको हाराहारीमा मात्रै लोड दिन थालेको छ। उक्त स्थानबाट मासिक नौ हजार मेट्रिक टन कोटा छुट्ट्याए पनि हाल करिब चार हजार मेट्रिक टन ग्यासको लोड मात्रै दिँदै आएको छ।
नेपालमा ५३ वटा उद्योगको ब्रान्डमा ७८ लाख सिलिन्डर उत्पादन हुन्छ। त्यसमध्ये ३५ लाख उपत्यकामा र बाँकी उपत्यकाबाहिर खपत हुन्छ। एक मेट्रिक टनबाट ७० वटा सिलिन्डर उत्पादन हुन्छ।