पोखरा, २ फागुन/कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान० कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह—आयोजनामा फाल्गुन ५ देखि ८ गतेसम्म पोखरामा हुने ‘आठौं जेरक्स क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
मेलाबारे जानकारी दिन मेला स्थल प्रर्दशनी केन्द्रमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यान कास्कीका सचिव एवं मेलाका सूचना प्रवक्ता रुकमांगत भण्डारी विश्वासले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । ग्रामिण क्षेत्रसम्म सूचना र प्रविधिको पहुँच पुर्याउनका लागि मेला निकै उपयोगि हुने क्यान कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाले बताउनुभयो । मेलामा पुग्ने ग्राहकहरुले लागि मोवाईल खरिदमा ५० प्रतिशतसम्म छुट पाउने पोखरा ईलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।
मोफसलमा निरन्तर ८ वर्षदेखि क्यान कास्कीले इन्फोटेक मेला गर्दै आएको छ । यस पटक पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघसँग सहकार्य गरी मोबाइल एक्स्पो पनि हुने भएकाले ८औं संस्करणाको यो मेला भव्य र विशेष हुने आयोजकको अपेक्षा छ । मेलामा सूचना प्रविधि तथा सञ्चार सम्बन्धी विभिन्न कम्पनीका १ सय २५ वटा स्टलहरु रहनेछन् । जेरक्स कम्पनीको मुख्य प्रायोजन रहेको मेलामा डायमन्ड स्पोन्सरका रुपमा रिको, गोल्ड स्पोन्सरको रुपमा पोखरा इन्टरनेट, सिल्भर स्पोन्सरको रुपमा नेटिस र हिटाची, टिकेट स्पोन्सरमा एक्सेस वल्र्ड, बैंकिङ पार्टनरमा नेपाल बैंक रहेका छन् ।
त्यसैगरी इन्सुरेन्स पार्टनरमा युनाइटेड इन्सुरेन्स, लोटरी पार्टनरमा चिठ्ठा डटकम, आइटी पार्टनरमा आइपे र वेबसफ्ट टेक्नोलोजी नेपाल, प्रिन्टिङ स्पोन्सरमा क्यानोन रहेका छन् । यसैबीच मोबाइल एक्स्पोमा नेपालमा विस्तार भएका चर्चित ब्राण्डहरूको उपस्थिति हुने आयोजकले जनाएको छ । सूचना प्रविधिको विकास एवं प्रवद्र्घनको लागि स्थापनाकालदेखि निरन्तर रुपमा काम गर्दै आएको क्यान महासंघले आफ्ना गतिविधलाई जिल्लाव्यापी बनाउदै आएको आयोजकको दावी छ ।
यो क्रममा पश्चिमाञ्चल क्षेत्रमा क्यान कास्कीले वर्षेनी इन्फोटेकलगायतका गतिविधि गर्दै आएको छ । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला सफल पार्न क्यान कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाको संयोजकत्वमा २९ वटा उपसमिति गठन गरिएको र सम्पूर्ण उपसमितिले आ आफ्नो जिम्मेवारी अनुरुपको कार्य करिब पूरा गरेको सो अवसरमा जानकारी गराईएको थियो ।