बैंकहरुले कर्जामा ब्याज बढाएकोमा निजी क्षेत्रको आपत्ति, तमसुकमा हस्ताक्षर ‘मृत्युपत्र’मा जस्तो

पोखरा, १४ माघ / पोखराका उद्योगी÷व्यवसायीहरुले बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा एक्कासी ब्याजदर बढाएर हिजोका ’सामन्तहरुको व्यवहार’ गरेको गुनासो गरेका छन् ।  उनीहरुले एकतर्फी रुपले बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा ब्याज बढाउँदा हिजो तयार पारेका परियोजनाहरुको लागत बढ्न गई समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको जिकिर समेत गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार पोखरामा आयोजना भएको बैक तथा वित्तीय संस्थाहरुले एक्कासी ब्याज बढाउँदा अर्थतन्त्रमा पारेको प्रभावबारे आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बाणिज्य बैंकहरु नाफाखोर भएको आरोप लगाएका हुन् ।

‘हिजो लिएको ऋणमा एक्कासी ब्याज थोपरिनु भनेको ऋण लिँदा गरिएको तमसुकमा ‘बैंकले चाहे एकतर्फी रुपमा नै ब्याजदर बढाउन सक्नेछ’ भन्ने वाक्याशंमा टेकेर एकतर्फी रुपले ब्याज बढाइनु भनेको ऋणीलाई अप्ठेरोमा पारेर ‘मृत्युपत्रमा’ हस्ताक्षर गराउनु नै हो भन्ने मेरो व्यक्तिगत ठम्याई रहेको छ’, कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पाखिलेले भन्नुभयो,‘ यतिबेला बैंकबाट आउने टेलिफोन र मोवाइलमा आउने म्यासेजले उद्योगी÷व्यवसायीहरुको निद्रा लुटेको छ अनि, स्वदेशमै केही गरौँ भन्ने भावनामाथि चिसो पानी खन्याई दिएको छ ।’

पछिल्लो समय बजारमा तरलताको अभाव देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले यसअघी गरेको कर्जा लगानीमा ३ प्रतिशतसम्म ब्याज बढाएका छन् । बाणिज्य बैंकहरुले ऋणीलाई थाहै नदिई गरिएको ब्याज बृद्धिले राष्ट्रिय उद्यमशीलता माथिको निर्मम प्रहार गरेको अध्यक्ष पालिखेले आरोप लगाउनुभयो ।  भूकम्पपछिको पुनर्निर्माण, पर्यटन क्षेत्रमा देखिएको उत्साहजनक वृद्धि एवं निजी क्षेत्रमा पलाएको आत्मविश्वासले गर्दा बजारले थप पूँजी खोजेका बेला ब्याज दर बढाउनुमा उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने सोचले काम गरेको हुन सक्ने उहाँको आशंका रहेको थियो ।

यस्तो अवस्थामा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्रभावकारी कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले निक्षेप संकलनको लागि जति ब्याज बढाए पनि बाणिज्य बैंकहरुले संकलन गरेको रकम देशको कूल गाहस्थ उत्पादन ( जिडिपी) बढाउन सहायक नहुने ठोकुवा गर्नुभयो । कर्जामा ब्याज बढाएर वित्तीय संस्थाहरुले देशको अर्थतन्त्रको लागि नकारात्मक भूमिका समेत खेलेको उहाँको तर्क रहेको थियो । बाणिज्य बैकहरुले संकलित निक्षेपभन्दा बढी कर्जा लगानी गर्दा समेत नेपाल राष्ट्र बैंक मौन बसेको प्रसंग निकाल्दै उहाँले थप्नुभयो,‘ राष्ट्र बैंकले निर्देशन दिएर मात्र पुग्दैन, नियमन पनि गर्नुपर्छ ।’ भारतमा प्रतिवन्धित १ हजार दरका नोटहरु नेपाली बैंक सोचेभन्दा बढी रहनुले पनि तरलता अभाव भएको हुन सक्ने उहाँको आशंका थियो ।

अग्रज पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठले बैंकले बैंकका कार्यकारी निर्देशकहरुको बैठकले ऋणमा ब्याज बढाउने निर्णय गरेको सार्वजनिक भएको प्रसङ झिक्दै के नेपाल राष्ट्र बैंकले पनि बैंकको सिण्डिकेटलाई प्रोत्साहन गरेको हो भन्ने प्रश्न गर्नुभयो । बैंकहरुले एक्कासी लगानीमा ब्याज वृद्धि गरेकोप्रति आक्रोश व्यक्त गर्दै भन्नुभयो,‘हामीले लिएको ऋण नयाँ हो कि पुरानो ?’ धेरै समय अगाडि निश्चित दरमा लिइएको ऋणमा ब्याजदर बढेकोमा उहाँको आपत्ति रहेको थियो ।
उहाँले बैंकहरुले जनताको पैसा चलाएर ठूलो मात्रामा नाफा कमाउनाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसकेको जिकिर समेत गर्नुभयो । ‘ बैकमा लगानी गरेपछि २०÷२२ प्रतिशत मुनाफा पाइन्छ भने किन उद्योग खोल्ने ?’–उहाँले भन्नुभयो,‘ बैंक खोलेपछि त्यसको आम्दानी कति हुने निश्चित हुनुपर्छ ।’

व्यवसायी अम्बर तुलाचनले गाडी चड्छु भन्दा सस्तो ब्याज र उद्योग गर्छु भन्दा चर्को ब्याज लिएर बैंक तथा वित्तीय संस्थाले के गरेका हुन् भनी प्रश्न गर्नुभयो । ‘पोहोर मैले राखेको पैसामा ६ प्रतिशत मात्र व्याज पाउने तर ६ महिना अगाडि लिएको ऋणमा पटक पटक व्याज किन बढ्छ ?’–उहाँको प्रश्न थियो ।  कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बाणिज्य बैंकहरुले भनेजस्तो बजारमा तरलता अभाव नरहेको दावी गर्नुभयो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले रिपो जारी गरेर आवश्यकताभन्दा बढी नै रकम बजारमा पठाएको उहाँको भनाई थियो ।

पछिल्लो समयमा बाणिज्य बैंकहरुले निक्षेप संकलनको तुलनामा बढी कर्जा लगानी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो,‘अहिले सबै बैंकहरु सबैभन्दा ठूलो गियरमा चलेका छन्, त्यहाँभन्दा बढीको गियर लगाउने अवस्था नै छैन, यसको कारक पनि उनीहरु नै हुन् ।’ बितेका पाँच महिनामा १ सय १५ अर्व निक्षेप संकलन भएकोमा १ सय ५८ अर्व कर्जा लगानी गर्नु नै बाणिज्य बैंकहरुको कमजोरी रहेको उहाँको भनाई थियो ।

कमेन्टहरु
Loading...