पोखरामा औद्योगिक व्यापार मेला जारी, बिहीबार बडिबिल्डिङ

पोखरा, ३० मंसिर / पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गत आज ( बिहीबार ) शारिरीक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । आम पोखरेलीलाई शारिरीक सुगठनबारे जानकारी दिन तथा स्वास्थ्यप्रति सचेतता बढाउन सो प्रतियोगित आयोजना गरिएको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले जनाउनुभयो ।

बिहीबार हुने सो प्रतियोतितामा ५५, ६०,६५,७० किलोग्राम तथा खुल्ला गरी पाँच विधामा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा करिब २६ जना खेलाडीको सहभागिता रहने र विजेताहरुले नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका कोषाध्यक्ष तथा साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिनुभयो ।

यसैगरी मेलामा विहीबार लोकदोहोरीतर्फ रामजी खांड, शंकर बिरही गुरुङ, जीवन दाहाल,सुरेन्द्र गुरुङ, रामजी पौडेल, भिमसेन खतिवडा,कृष्ण अखेली,शान्ती डोटेल, रमा राना,प्रिया गुरुङ, नेत्र खड्काको प्रस्तुति रहनेछ भने पपतर्फ आनन्द बज्राचार्य र रजनी राई विशेष आकर्षणको रुपमा रहने छन् । यसैगरी हाँस्य कलाकार पल्पसा र सुरवीर तथा पिसिसिआई गायन तारा प्रतियोगिता पनि मेलाको आकर्षणको रुपमा रहनेछन् ।

मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार बुधबारसम्म करिब ८० हजार जनाले मेलाको अवलोकन गरेका छन् भने मेलास्थलबाट झण्डै सात करोड ५० लाख रुपैयाँको कारोवार भएको छ । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मूल नाराका साथ मंसिर २३ गतेबाट सुरु भएको मेला पुस ४ गतेसम्म जारी रहने संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय उत्पादनको प्रवद्र्धन र बिक्री बितरण गर्दै व्यवसायीहरुलाई उद्यमशिलता सिकाउन मेला आयोजना गरिएको हो । मेलामा अटो, सूचना प्रविधी, हस्तकला, कृषि, फ्लोरिकल्चर,दैनिक जीवनमा प्रयोग हुने सामाग्रीसहितका स्टलहरु रहेका छन् । ती स्टलहरुबाट विशेष छुटसहित सामानहरु बिक्री बितरण भई रहेको छ भने मेला स्थलमा निशुल्क वाईफाईको व्यवस्था समेत गरिएको छ । यसैगरी मेलामा रहेको स्टलबाट नेपाल टेलिकमले ५० रुपैयाँ ब्यालेन्स भएको नमस्तेको प्रिपेड सिमकार्ड निशुल्क वितरण समेत गरेको छ ।

कमेन्टहरु
Loading...