पोखरा, २८ भदौ /पोखरा उद्योग वाणिज्य संघको आगामी ३१ औं महाधिवेशन नजिकिदै गर्दा उम्मेदवारहरुले घरदैलो अभिायनलाई तिव्रता दिएका छन् ।

संघको उद्योगतर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार दिनुभएकी सीता गुरुङ, उप–महासचिव पदका प्रत्यासी अर्जुन पोख्रेल, सदस्य पदका उम्मेदवारहरु बलराम आचार्य र कुमारी मुना बास्तोलाले सोमवार लेकसाईडका विभिन्न क्षेत्रमा घरदैलो अभियान गरेका छन् ।
व्यवसायीहरुको बीचमा पुगेर उनीहरुले मत मागेका छन् । सो क्रममा व्यवसायीहरुले संघमा पुगेर व्यवसायिक हितको लागि कार्य गर्न आग्रह गरे । साथै उनीहरुले अग्रिम शुभकामना व्यक्त गरेका थिए । उद्योगतर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार दिनुभएकी गुरुङले व्यवसायीहरुले विजयी गराउन सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो ।
उप–महासचिव पदका उम्मेदवार पोख्रेलले आगामी कार्यकाल व्यवसायीहरुको हकहितमा समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघको विधान संसोधनमा क्रियाशिल रहेका सदस्य पदका उम्मेदवार आचार्यले व्यवसायी, उद्योगी तथा अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै उम्मेदवारी दिएको बताउदै विजयी गराउन आग्रह गर्नुभयो । अर्का सदस्य पदका उम्मेदवार बास्तोलाले महिला उद्यमीको प्रवद्धनमा लाग्ने उल्लेख गर्नुभयो । संघको महाधिवेशन भदौ ३१ र असोज १ गते हुदै छ ।