बिहानी र परिक्रमा सहकारीको एकीकरण

पोखरा, २८ भदौ /पोखराको न्युरोडमा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्था र बिरौटाको परिक्रमा बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ । संस्थालाई बलियो बनाई सेयर सदस्यहरु माझ प्रभावकारी रुपमा वित्तीय सेवा प्रदान गर्ने लक्ष्यका साथ दुई संस्थाबीच एकीकरण गरिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

शनिबार पोखरामा सम्पन्न दुवै सहकारीको संयुक्त साधारणभाले नयाँ सञ्चालक समितिसमेत सर्बसम्मत चयन गरेको छ । अध्यक्ष रामचन्द्र शर्मा रहने गरी दुवै सहकारीका सञ्चालकहरुलाई समेटेर समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा धर्मराज भण्डारी, द्वितीय उपाध्यक्षमा हरिकृष्ण तिवारी, महासचिवमा किरण पोखरेल, कोषाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा सुशीला सिग्देल चयन भए । सञ्चालकहरुमा लालकाजी गुरुङ, प्रेम गिरी, गायत्री अर्याल, मुक्तिनाथ ढकाल, सबिता श्रेष्ठ रञ्जित, विष्णु पराजुली र राजेश भण्डारी चयन भएका हुन् ।

सहकारीलाई बृहद आकारमा बिस्तार गरी उदाहरणीय बनाउन दुई संस्था एकीकरण गरिएको अध्यक्ष शर्माले बताए । ‘सदस्यहरुलाई व्यवसायी र उद्यमी बनाउन हामीले प्रोत्साहन गरिरहेका छौं,’ उनले भने, ‘आगामी दिनमा अझ बढी प्रोत्साहन गर्नेछौं ।’ अन्य सहकारीहरुसँग पनि एकीकरणका लागि पहल भइरहेको उनले जानकारी दिए । ‘सहकारी बचत तथा ऋणको कारोबारमा मात्र सीमित हुनुहुँदैन भन्ने मान्यताले उद्यमशीलता प्रवद्र्धन अभियानमा सक्रिय छौं,’ उनले भने ।

बिहानी सहकारीको साझेदारी कार्यक्रम अन्तर्गत सेयर सदस्यहरुलाई उद्यमशील बनाउने तथा रोजगार प्रवद्र्धन गर्ने उद्देश्यले बिहानी प्रोडक्ट एण्ड सप्लायर्स प्रालि अमरसिंहचोकमा सञ्चालन भइरहेको छ । सहकारीको साझेदारीमा अमरसिंहचोकमै बिहानी एग्रो एण्ड सप्लायर्र्स पनि सञ्चालनमा छ । एकीकरण पश्चात संस्थाको सेयर सदस्य २ हजार २ सय ८३ जना जना पुगेको अध्यक्ष शर्माले जानकारी दिए ।

‘सेयर पुँजी ८ करोड रुपैयाँ पुगेको छ,’ उनले भने । कर्जा लगानी १९ करोड ५० लाख रुपैयाँ र निक्षेप १८ करोड रुपैयाँ पुगेको महासचिव किरण पोखरेलले जानकारी दिए । मुख्य कार्यालय न्युरोडमा रहेको सहकारीको शाखा कार्यालय बिरौटा, हेम्जा र लेखनाथमा रहेको सचिव सुशीला सिग्देलले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...