कास्कीमा सामाजिक सुरक्षा भत्ता बैंकबाट

पोखरा, १५ भदौ/कास्कीका गाविसबाट दिइने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत प्रदान गर्न जिल्ला विकास समिति कास्की र सम्बन्धित बैंकहरुबीच सम्झौता भएको छ । जिल्ला विकास समिति कास्कीले मंगलबार गरेको एक कार्यक्रममा क्षेत्रीय प्रशासक गोपीप्रसाद मैनालीले सम्झौता हस्तान्तरण गरेका हुन् ।

सम्झौता अनुसार कास्कीका ३२ गाविस मध्ये ३१ गाविसमा मुक्तिनाथ विकास बैंकमार्फत र एउटामा ओम डेभलपमेन्ट बैंकमा खाता खोलेर सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता पाउने छन् । ढिकुर पोखरी गाविसमा ओमले र बाँकीमा मुक्तिनाथले सेवा प्रदान गर्ने सम्झौता उल्लेख छ । सम्झौता हस्तान्तरण कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक मैनालीले सेवाग्राहीले हिजो गाविस सचिव मार्फत पाएको भन्दा सहजढंगले सेवा पाउने असा प्रकट गरे ।

तर गाविस सचिवहरुको दायित्व यसले घटाउने भन्दापनि झनै बढाएको उनको भनाई थियो । बैंक खाता मार्फत भत्ता प्रदान गर्दा रकमको दुरुपयोग नहुने र सेवाग्राहीमा बचत गर्ने बानीको विकास हुने उनको भनाई थियो ।

सामाजिक सुरक्षा बैंक खातामार्फत प्रदान गर्ने र कुन बैंकमा खाता खोल्ने भन्ने विषयमा गाविसले नै निर्णय गरि पठाउनुपर्छ । नेउपानेका अनुसार जिल्लाका ३२ गाविसमा बैंकहरु मार्फत २८ करोड रुपैयाँ वितरण हुनेछ । यसबाट १७ हजार ६ सय जनाले लाभ लिनेछन् ।

पोखरा उपमहानगरपालिका र लेखनाथ नागरपालिकाले भने बंैक मार्फत यसरी नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेका छन् । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...