गोकुल बानियाँ, पोखरा ११ भदौ / पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशनको लागि बस्तुगत संघको तर्फबाट १३ जनाले एकैसाथ उमेदवारी घोषणा गरेका छन् । बस्तुगत संघको तर्फबाट शुक्रवार आयोजित संयुक्त पत्रकार सम्मेलन मार्फत विभिन्न पदमा उनीहरुले उमेदवारी घोषणा गरेका हुन् ।

यसअघि फेसबुकमा उमेदवारी घोषणा गरी भोट माग्न ब्यस्त उनीहरुले औपचारिक रुपमा एकसाथ उमेदवारी घोषणा गरे । संघमा प्रतिनिधित्व गर्ने २३ वटा बस्तुगत संघको शुक्रवार विहान सम्पन्न संयुक्त बैंठकले गरेको निर्णयका आधारमा एकसाथ उमेदवारी घोषणा गरिएको उनीहरुले बताए ।
भदौ ३१ र असोज १ मा हुने महाधिवेशनको लागि संघका वर्तमान द्धितिय उपाध्यक्ष समेत रहेका फेन्सी तथा रेडिमेड ब्यवसायी संघका पूर्व अध्यक्ष मिनराज काफ्लेले बरिष्ठ उपाध्यक्ष पदमा उमेदवारीको घोषणा गरे । त्यस्तै सुरेश अधिकारीले बाणिज्य तर्फको उपाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । उनी अधिकृत विक्रेता संघ कास्कीका अध्यक्ष समेत हुन् ।
त्यस्तै पत्रकार सम्मेलन मार्फत ३ महिला सहित ११ जनाले कार्यसमिति सदस्य पदमा उमेदवारी दिने घोषणा गरे । प्रेम बहादुर पौडेल, प्रेम बहादुर भूजेल, गिरीधारी शर्मा, हिमालय बख्रेल, सीता वराल, गीता तिवारी, पवीत्रा गुरुङ, बलराम आचार्य, हरिराज पन्त, देव कृष्ण काफ्ले र कृष्ण रानाभाटले उमेदवारीको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा कार्यसमिति सदस्य पदका उमेदवार अनिल सिग्देल, बरिष्ठ उपाध्यक्षका आकांक्षी रविन्द्र बहादुर प्रजु , उद्योग तर्फको उपाध्यक्षमा उमेदवारी दिने सीता गुरुङ र कोषाध्यक्ष पदका आकांक्षी पवन प्रजापतिको नाम लिएपनि उनीहरु उपस्थित थिएनन् ।
पत्रकार सम्मेलन मार्फत काफ्लेले घोषणा गरेको बरिष्ठ उपाध्यक्ष पदमा प्रजुले पनि उमेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै अधिकारीले घोषणा गरेको बाणिज्य तर्फको उपाध्यक्ष पदमा यसअघिनै विन्दु कोइराला सुवेदीले उमेदवारी दिने घोषणा गरिसकेकी छिन् । बस्तुगत संघ अन्तर्गत झण्डै १६ सय मतदाता रहेका छन् ।
शुक्रवार सबै बस्तुगत संघको संयुक्त बैंठकबाट साझा निर्णय गरेको भनिएपनि बस्तुगत संघ भित्रबाटै पदाधिकारी सहित अन्य पदका दावेदार केहि ब्यक्तिहरु पत्रकार सम्मेलनमा सहभागि थिएनन् । पत्रकार सम्मेलनको अध्यक्षता समेत गरेका अधिकृत विक्रेता संघका अध्यक्ष तथा बाणिज्य तर्फको उपाध्यक्ष पदका दावेदार अधिकारीले कोईरालासँग कुनै समन्वय र सल्लाह नभएको र उनी स्वतन्त्र रुपमा प्रतिश्पर्धामा आउन सक्ने बताए । कार्यक्रममा उपस्थित नभएका अन्य आकांक्षीहरुले पनि बस्तुगत संघको तर्फबाट भन्दा पनि समग्र ब्यवसायीको तर्फबाट उमेदवार बन्न लागेको बताए ।
स्रोतका अनुसार बस्तुगत संघको तर्फबाट उमेदवारी प्रस्तुत गरिएको भएपनि मिलाउने प्रयास भने जारी छ । अध्यक्षका आकांक्षी देव क्षेत्री समुहको मानिने मिनराज काफ्ले , रविन्द्र बहादुर प्रजु, विन्दु कोईराला सुवेदी लगायतलाई मिलाउने प्रयास अहिले पनि जारी छ । क्षेत्री प्यानलबाट महासचिवमा उत्रने भनिएका प्रकाशदेव पालिखे पछि हटेपछि प्रजुले पुनस् महासचिवको कार्यकाल दोहोर्याउने गरी प्रतिश्पर्धामा आउने योजना पनि बनिरहेको छ ।
अध्यक्षका आकांक्षी मध्ये क्षेत्री सहित विश्वशंकर पालिखे, नारायण कोईराला र ईश्वर कर्माचार्यले अहिले सम्म औपचारिक रुपमा उमेदवारी घोषणा गरेका छैनन् । हिरा भट्टराई र धनिराम वरालले पत्रकार सम्मेलन मार्फत उमेदवारी घोषणा गरिसकेका छन् । भट्टराईले चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेकी छिन् । आकांक्षीहरु कोईराला, कर्माचार्य र वराल पछि हट्न सक्ने संकेत गरेपनि एकिन भएको छैन । उनीहरु बरिष्ठ उपाध्यक्ष पदमा कुनै समुहमा स्थान पाए अध्यक्षको आकांक्षा छोड्नसक्ने मनस्थितिमा रहेको स्रोतले बतायो । तर उनीहरुलाई मिलाउन समस्या भैरहेको पोखरा उद्योग बाणिज्य संघ स्रोतले बताएको छ ।