पोउवा संघको नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम सार्वजनिक 

पोखरा, ३२ साउन /पोखरा उद्योग वाणिज्य संघको आसन्न ३१ औँ महाधिवेशन अन्तर्गत हुने चुनावी कार्यतालीका सार्वजनिक भएको छ ।  संघमा गठित निर्वाचन समितिको मंगलबार बसेको बैठकले आउँदो भदौ १ गते हुने निर्वाचनको लागि मतदाता नामावली प्रकाशनदेखि मतदानसम्मको कार्यतालीका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका संयोजक दीपक श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रमको लागि भदौ १५ गते मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमा दावी बिरोध, छुटेको  नाम थप्ने, सच्याउने आदि प्रयोजनको लागि भदौ १८ गतेसम्मको समय दिइएको छ भने भदौ १९ गते ती प्रक्रिया उपर निर्वाचन समितिले आवश्यक कार्य सम्पादन गर्नेछ । मतदाताको अन्तिम नामावली भदौ १९ गते सार्वजनिक हुनेछ ।
संघको अध्यक्ष, पदाधिकारीसहित कार्यसमितिको सदस्यको लागि हुने निर्वाचन कार्यक्रम भने भदौ २० गतेदेखि सुरु हुनेछ । भदौ २० गते बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयनपत्र बितरण गरिनेछ । भदौ २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन समितिका अनुसार उम्मेदवार उपर दावी बिरोध गर्नको लागि भदौ २२ गते बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको समय तोकिएको छ भने उम्मेदवारी उपरको दावी बिरोधको छानबिन पनि सोही दिन सम्पन्न गरी अपरान्ह ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
भदौ २३ गते बिहान ११ बजेदेखि  ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने सोही दिन ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भदौ २५ गते उम्मेदवारको  परिचय कार्यक्रम सम्पन्न भएपछि भदौ ३१ गते ३१ औँ महाधिवेशन आयोजना हुनेछ भने निर्वाचन कार्यक्रम चाहिँ असोज १ गते बिहान ८ बजेबाट अपरान्ह ४ बजेसम्म कायम रहेको निर्वाचन समितिले जनाएको छ ।
कमेन्टहरु
Loading...