पोखरा, २६ साउन /पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पति करमा भएको बृद्धि तत्काल फिर्ता लिन पोखरा उपमहानगरपालिकासँग जोडदार माग गरेको छ । संघका अध्यक्ष विन्दुकुमार थापाको नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरलाई एक ज्ञापनपत्र बुझाउँदै अप्रत्यासित रुपले गरिएको करको दायरा बढाउने निर्णय फिर्ता लिन माग गरेको हो ।

ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष थापाले करको दायरा बढाउनुको सट्टा करको दर बढाउँदा यसले नगरबासीको ढाड सेकिएको बताउनुभयो । उहाँले उपमहानगरपालिकाले एकिकृत सम्पत्ति कर लगाउने बेलामा नै मालपोत कार्यालयले घरजग्गाको कर बृद्धि गरे पनि एकिकृत सम्पत्ति करमा बृद्धि नगर्ने निर्णय भएको स्मरण गराउनुभयो ।
एकिकृत सम्पत्ति कर कार्यान्वयन भएको एक वर्ष पनि नपुग्दै यो निर्णय गरिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाई थियो । ज्ञापनपत्र बुझ्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कुँवरले कर बृद्धि नगरिएको तर स्रोतमा नै कर बढ्दा कर बढेको देखिएको जिकिर गर्नुभयो । २०७२ साल कार्तिक ९ गते राजपत्रमा सूचना प्रकाशित गरी कर बृद्धि भएको जनाउँदै उहाँले जग्गा मात्रमा २० प्रतिशतको हाराहारीमा मात्र कर बृद्धि भएको र घरको तला थपिँदा कर पनि थपिएको जानकारी दिनुभयो ।
उहाँले सम्पत्ति कर बढेको गुनासो जायज भएको बताउँदै आफूहरु कुन कानूनी आधारमा यो निर्णयबाट फिर्ता हुन सकिन्छ भन्नेबारे परामर्शमा रहेको बताउनुभयो । नगरबासीको माग उपर्युक्त ढंगबाट संवोधन गरिने उहाँको आश्वासन थियो ।