२९औं अंकको ‘सामुदायिक सन्देश’ बिमोचन

राजु गिरी, पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीद्वारा प्रकाशित २९ औं अंकको बुलेटिन ‘सामुदायिक सन्देश’ बिमोचन गरिएको छ । कास्की भित्र रहेका ७ वटै सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका मुख्य गतिविधि समेटिएको बुलेटिन आज (सोमबार) एक कार्यक्रम बिच बिमोचन गरिएको हो ।

बिमोचन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मी, कास्की प्रहरीका प्रहरी नायव उपरिक्षक श्रवणकुमार बिक, पोखरा महानगरपालिकाका प्रवक्त मोतीराज तिमिल्सिना, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

बुलेटिनमा समुदाय प्रहरी साझेदारी कार्यक्रम, नागरिक प्रहरी अन्तरक्रिया, खेलकुद, स्वास्थ्य शिविर, लैङ्गीक हिंसा विरुद्धका सचेतना, कानूनी ट्राफिक सचेतना, गाँजा फडानी, लागु औषध नियन्त्रण रोकथानका लागि अभियानहरु तथा विभिन्न मुख्य गतिविधि समेटिएको बुलेटिन प्रकाशन समिति संयोजक मनपति भण्डारीले जानकारी दिए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले समुन्नत समाज तथा अनुशासित समाजको निर्माणमा सामुदायिक सेवा केन्द्रले छुट्टै सकारात्मक भुमिका खेलेको बताए ।

त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मीले समाजमा शान्ति सुरक्षा व्यवस्थालाई कायम गर्न थप बल पुराउन सामुदायिक केन्द्रले गरेको कार्यलाई प्रशंसा व्यक्त गरे ।

त्यसैगरि सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीले विकृति विसंगति रहितको समाज निर्माणमा सामुदायिक केन्द्रहरु तत्परताका साथ अगाडी बढिरहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमिल्सिना, लेखनाथ सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष गंगा कुमारी खनाललगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका महासचिव घनश्याम तिम्सिनाले गरेका थिए ।

विमोचन कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सरुवा भई आएका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मीलाई स्वागत समेत गरेको छ ।

कमेन्टहरु
Loading...