जन्मैदेखि आँखाको दृष्टी गुमाएका छवी मोबाइल र ल्यापटप चलाउन पोख्त छन् । ल्यापटपमा कामसँगै बेलाबेलामा मोबाइल प्रयोग गर्दै कफिको चुस्की लगाउँदै गरेको उनको दृष्य प्राय पोखराको रिडर्स कर्नरमा देख्न सकिन्छ ।
आफ्नो ल्यापटपमा नयाँ सफ्टवेयर विन्डोज ११ चलाइरहेका उनी अनलाइन बैंकिङमार्फत कारोबार गर्न सक्छन् । प्रविधिले सजिलो बनाए पनि आँखाको दृष्टी गुमाएकाले प्रयोग गर्न नसक्ने भन्दै धेरै क्षेत्रमा पहुँच नै नदिइने वा विश्वास नै नगरिने उनको गुनासो छ ।
निराश हुँदै उनी भन्छन् –‘प्रविधिले धेरै नै सजिलो र छरितो बनाएको छ । तरपनि हामी जस्ता अपाङ्गता भएका व्यक्तिलाई बैंकमा खाता खोल्नै दिइदैन । हकवाला वा कोहीलाई ल्याए मात्र खोल्न मान्ने गर्छन्, त्यो पनि धेरै नै अनुरोध गर्नुपर्छ । हामीलाई दोस्रो वर्गको नागरिक सरह व्यवहार गरिन्छ । खाता खोल्नै परे कि पहुच लगाउनुपर्छ कि झगडा नै गर्नुपर्छ । यदि मैले पनि बैंकमा चिनेको मानिस छैनन् भने खोल्न सकिन्छ जस्तो मलाई लाग्दैन ।’
बैंकमा सामान्य खाता खोल्न स्वयंको जोखिममा खोल्न दिनुपर्ने उनी चाहन्छन् । धेरै नै प्रयास पछि आफ्नो खाता खोलेको र अहिले विभिन्न कारोबार अनलाइन बैंकिङमार्फत नै गरेको उनी सुनाउछन् । प्रविधिमा निकै रुचि भएका उनलाई अहिलेसम्म कुनै बैंकले एटिएमको पहुँच दिएको छैन । ‘अहिले ल्यापटपमा विन्डोज ११ चलाउछु, अनलाइन बैंकिङ प्रयोग गरेको छु । तर अहिलेसम्म एटिएम दिएका छैनन्, दिनै मान्दैनन् । म प्रयोग गर्न सक्छु भने मेरो रिस्क(जोखिम)मा दिनु पर्छ भन्ने मलाई लाग्छ ।’ –उनी भन्छन् ।
विभिन्न संस्थामा भएको र चिनजान हुँदा आफुलाई बुझेकोले बैंकमा खाता खोल्न सकेको अनुभव सुनाउँदै उनी भन्छन् –‘म जस्ता दृष्टी विहीन साथीहरुलाई बैंकका कर्मचारीले खाता खोल्न मिल्दैन, खोल्ने भए एकजना हकवाला लिएर आउनुस् भन्नुहुन्छ ।’ आँखाको दृष्टी नभएपनि अरु सरह आफु सक्षम रहेको उनी दावी गर्छन् । सबै कुरा सकिन्छ भन्ने छैन तर सकिने कुरामा हामी जस्तालाई पनि पहुँच दिन उनी आग्रह गर्छन् ।
अनलाइन पे मार्फत कारोबार गरिरहेको अनुभव सुनाउँदै प्रविधिको प्रयोग गर्दा सजिलो, छिटो र सुरक्षित समेत रहेको उनी बताउँछन् । कही कतै जादाँ राइड सेयरीङ एप इन ड्राएभमार्फत आफु जाने गरेको समेत उनले अनुभव सुनाए ।
अपाङ्गता भएका व्यक्तिलाई पहुँचको समस्या ठुलो रहेको उनको भनाई छ । समाजले हेर्ने दृष्टीकोणमा पनि निकै फरक रहेको उनी बताउँछन् । समाजको यो सोँचाईलाई फराकिलो बनाएर हेर्नुपर्ने उनी चाहन्छन् । संघ संस्थाहरुले अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई धेरै नै पुरा गरेको तर राज्यले आधारभुत आवश्यकताका विषयमा समेत नसोचेको उनी बताउँछन् ।
‘राज्यलाई भन्ने कुरामा बोल्नै आउदैन, भन्नै सक्दिन, किनकी धेरै कुरा छन् । धेरै कुरा भएकाले शब्द नै छैन ।’
राज्यले कसरी हेरेको छ भन्ने प्रश्नमा उनी केही समय मौन रहे । लामो सास फेर्दै उनले भने –‘राज्यलाई भन्ने कुरामा बोल्नै आउदैन, भन्नै सक्दिन, किनकी धेरै कुरा छन् । धेरै कुरा भएकाले शब्द नै छैन ।’
आफुजस्तै दृष्टी गुमाएका साथीहरुलाई उत्पादन क्षेत्रमा जोड्नको लागि सक्षम बनाउने योजना रहेको उनी बताउँछन् । दृष्टीबिहीनहरुपनि धेरै कुरामा सक्षम छन् भन्ने कुरा समाजलाई महसुस गराउने उनको चाहना छ । उनी भन्छन् –‘चान्स पाइयो भने हामी पनि गर्न सक्छौं ।’
‘प्राय मानिसहरूले होस या सञ्चार माध्यमहरूले, फरक क्षमता भनेर उच्चारण गर्छन्, जुन गलत हो । हामीहरू अपाङ्गता भएका व्यक्ती हौँ । हामीसँग आम मानिसहरूमा नभएको फरक क्षमता केही पनि छैन र फरक क्षमता भन्ने शब्दलाइ कानुनले चिन्दा पनि चिन्दैन । यसको सट्टा अपाङ्गता भएका व्यक्ती भन्यो भने राम्रो हुन्छ ।’ –छवि सुझाउछन् ।
नेपाल नेत्रहिन संघ गण्डकीका महासचिव तथा अपाङ्गता स्वाबलम्वन विकास संघका कार्यसमिति सदस्य समेत रहेका गोर्खाका छवि आले पोखरा आएको पनि ३ वर्ष भइसकेछ । गोर्खामा १० कक्षासम्म पढेका उनी काठमाडौंमा स्नातक गरेर पोखरा आएका हुन् ।
पोखरामा आइसकेपछि जीवन नै परिवर्तन भएको उनको अनुभव छ । ‘पोखरा आएको ३ वर्ष हुन लाग्यो, पोखरा आएपछि निकै परिवर्तन भए म, संघ संस्थासँग जोडिदै गए, हामी जस्तै व्यक्तिको आवाज बन्नु पर्छ भन्ने मनमा आयो, पहिला डुल्ने, रमाइलो गर्ने समयलाई कसरी विताउने भन्ने मात्र हुन्थ्यो । अहिले आध्यात्मीक भाको छु । पोखरा आएपछि मेरो सोचाइमा नै धेरै परिवर्तन भएको छ । सायद उमेरले पनि होला ।’ – उनले पोखराको अनुभव सुनाए ।
पोखरामा अपाङ्गता भएका व्यक्तिले भोग्ने समस्या सुनाउँदै उनी भन्छन् –‘सडक छेउ हिड्दा खाल्डोको समस्या धेरै छ, अझ जेब्राक्रस कहाँनिर छ भन्ने कुनै संकेत नै छैन । यसले हामीलाई बाटो काट्न निकै समस्या भएको छ ।’
जन्मैदेखि आँखा नदेखेका उनको त्यो समयमा उपचार सम्भव थिएन । अहिले उपचार हुन्छ भनेपनि नगर्ने सोँचमा उनी छन् । ‘बाहिरी कुराहरु देख्दिन तर प्रविधिलाई निकै अंगालेको छु । अध्यात्मीक तिर पनि छु यसले मलाई जिवन रमाइलो बनाएको छ ।’ –उनी भन्छन् ।
‘सपना देख्नुहुन्छ भन्ने प्रश्न धेरैले सोध्छन् मेरो सधै एउटै उत्तर रहन्छ । सपना आँखा चिम्लेरै देख्ने हो ।’
जीवन जे जस्तो छ त्यसलाई रमाइलो बनाएर जिउनु पर्ने उनको सोँचाई छ । धेरैले गर्ने जिज्ञासा सुनाउदै उनी भन्छन् –‘सपना देख्नुहुन्छ भन्ने प्रश्न धेरैले सोध्छन् मेरो सधै एउटै उत्तर रहन्छ । सपना आँखा चिम्लेरै देख्ने हो ।’
पढ्न रमाइलो लाग्ने उनलाई पढ्न पाए भोक प्यास नै हराउने उनी बताउँछन् । कुनै छुट्टै विधाको नभै सवैखाले पुस्तक पढ्ने गरेको उनी सुनाउछन् । यही पढाई र जीवनको भोगाइले आफुमा परिपक्वता ल्याएको उनी बताउँछन् ।
हालसालै पढेको पुस्तकमा भएको लाइन निकै मनमा छोएको बताउँदै उनी सुनाउछन्ः
छिमेकीले अंतरिक्षमा यान पठाउछ,
मेरो देश चाँही खाडीमा जवान पठाउछ,
भर्खरै बिहे गरि परदेश गएको छोरोले आमा विर्सन्छ, श्रीमतीलाई सामान पठाउछ ।