पोखरा । क्वेर समुदायकी २५ वर्षिया मोना मल्ल ट्रान्सजेण्डर महिला हुन् । जन्मदा बालक (पुरुष) भएपनि हुर्किदै गएपछि मोना आफुलाई महिला हुँ जस्तो लाग्न थाल्यो । आफुलाई केटी भन्न मन पराउन थालिन् । विस्तारै उनको स्वभाव पनि महिलाको जस्तै हुँदै गयो । आफु महिला हु भन्न मन पराउने, महिला साथीहरु बनाउने चाहना बढ्ने, महिलाको पोशाक मन पर्नेे र लगाउन मन पराउने स्वभाव उनको बढ्दै गयो ।
उनी अहिले महिलाकै रुपमा चिचिन् चाहन्छिन् । जन्मदा पुरुष भएपनि उनको स्वभाव, मन, मस्तिष्क, अनुभव, व्यवहार सबै महिलाको रहेको उनी बताउँछिन् ।
‘समाजले हामीलाई महिला वा पुरुष सरह नै हेरिदिने र सोही अनुसारको व्यवहार गरिदिए हुन्थ्यो । म महिलाको अनुभव गर्ने भएकाले दिदि, बहिनी वा महिलाकै सरह सम्वोधन गरिदिँदा मलाई खुसी लाग्छ । जन्मदा अंगले पुरुष वा महिला जे निर्धारण गरेपनि बढ्दै गएपछि जेन्डर परिवर्तन हुन सक्छ भन्ने समाजमा थाहा हुन जरुरी छ । जसरी अरुलाई व्यवहार गरिन्छ त्यही अनुसार हामीलाई पनि व्यवहार गरिदिनुस् ।’ –उनी भन्छिन् ।
समाजले क्वेर समुदायका व्यक्तिलाई हेर्ने नजर नकरात्मक रहेको उनी सुनाउछिन् । मल्ल भन्छिन् –‘समाजले हामीलाई हेर्ने नजर फरक छ, तर हामी फरक होइनौं । विशेष त ट्रान्सजेण्डरलाई हेर्ने नजर अझ बढी नकरात्मक छ । साँझपख बाटो वा बजारमा निस्कदा समेत यौन पेशा गर्छ भन्ने सोच्छन् । बाटोमा हिड्दा नराम्रो शब्द प्रयोग गरेर जिस्काउने गर्दा निकै दुःख लाग्छ ।’
पोखरामा क्वेर समुदायलाई विभेद गरिएको उनी बताउँछिन् । तर सुरक्षाको दृष्टीकोणमा सुरक्षित नै महसुस भएको उनको अनुभव छ ।
‘पोखरामा हामी जस्तो समुदायको लागि काम नै पाइदैन । काम पनि नखुलेकोले पाउनुभएको होला, तर उ यो समुदायको हो भन्ने थाहा पाएपछि जागिर नै दिदैनन् । हाम्रो योग्यता र क्षमताको आधारमा काम पाउनुपर्ने हो तर हामी योग्य भएपनि क्वेर समुदाय भएकाले अवसर नै पाइदैन । अवसर पाए हामीपनि गर्न सक्छौं ।’ –उनी भन्छिन् ।
परिवार र समाजले किन यति धेरै विभेद गरिरहेको छ उनले बुझ्न सकेकी छैनन् । आँखामा रसाएका आसुलाई पुछ्दै उनी भन्छिन् –‘परिवारले बुझ्न खोज्नु नै हुन्न, परिवारले नै नबुझे पछि के नै भन्नु, कस्लाई पो भन्नु । हामी पनि यहि समाज कै हौं । काटे रगत रातो नै आउँछ, खुसी दुःख पिडा हामीलाई पनि महसुस हुन्छ तरपनि हामीलाई किन फरक तरिकाले व्यवहार गरिन्छ ।’