वातावरणमैत्री झोला बनाउने तालिम शुरु

स्याङ्जा । युनाइटेड कम्युनिटी नेपाल (युनिकन) ले होप फर चिल्ड्रेनको सहयोगमा फेदिखोला गाउँपालिका वडा नम्बर १ रामकोट, स्याङ्जामा ४५ दिने ‘वातावरणमैत्री झोला बनाउने तालिम’ कार्यक्रम शुरु भएको छ ।

तालिमको शुभारम्भ कार्यक्रममा फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले तालिमलाई तालिमको रुपमा मात्र नभई व्यवसायिक रुपमा अगाडि बढाउनुपर्ने र आवश्यक बजार व्यवस्थापनको लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।

त्यस्तैगरी, फेदिखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अमृत क्षेत्रीले सीप तथा दक्षता आजको आवश्यकता भएकाले यस अवसरलाई कसरी अधिकतम सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा सहभागीहरुले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै युनिकनका कार्यकारी निर्देशक विनोद न्यौपानेले धेरै चरणको छलफल पछि महिला दिदिबहिनिहरुको माग अनुसारको कार्यक्रम सञ्चालन गरिएकाले महिला दिदिबहिनीहरुको सीप बिकासहुनुका साथै आत्मनिर्भर बन्न सहयोग पुर्याउने र यस कार्यक्रमको प्रभावकारीता उल्लेखनीय रहेको तथा बजार व्यवस्थापनमा समेत सहज हुने कुरा बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट रामकोट आमा समूहकी अध्यक्ष पूर्णसुभा रामदामले यो अवसर प्रदान गरेकोमा सम्पूर्ण संस्थाहरुप्रति आभार प्रकट गर्दै सीप सिकेपछि व्यवसायिक रुपमा अगाडि बढ्न सहभागीहरु उत्साहित भएको बताइन् ।

कार्यक्रममा फेदिखोला गाउँपालिका वडा नम्बर १ को रामकोटबाट २७ जना दिदीबहिनीहरुको सहभागिता रहेको छ भने कार्यक्रमको प्रशिक्षकमा सोनिया थापा मगर रहेकी छन् ।

कार्यक्रमको अध्यक्ष रामकोट टोल सुधार समितिका अध्यक्ष टकबहादुर गुरुङले गरेका थिएभने सञ्चालन नविना गुरुङले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...