काठमाडौ। नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा साविक उच्च मावि शिक्षकहरुका विभिन्न समस्याहरूको बारेमा सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(ज्क्ष्क्त्ग्ल्) ले प्रथम चरणका कार्यक्रमहरु घोषणा गरेको छ ।
हिस्टुनको केन्द्रिय समितिको पुर्ण बैठकले आगामी संघीय शिक्षा ऐनमा हिस्टुनले उठाएका जायज मागहरु सम्बोधन हुनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हिस्टुन केन्द्रिय महासचिव शंकर तिवारीले जानकारी दिए ।
महासचिव तिवारीका अनुसार असार १२ देखि १९ गते सम्म कक्षा–१२ को उत्तरपुस्तिका परिक्षण अबरोध गर्ने समेत उल्लेख गरिएको छ। त्यसैगरी आगामी असार १६ गते सरोकारवाला सहितको बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, असार १७ गते राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोग, शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरमा धर्ना दिने एबम ध्यानाकर्षण पत्र बुझाउने, असार १८ गते माइतिघर मण्डलामा देशभरका शिक्षकहरु जम्मा भएर धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।
चार हजार अनुदान कोटालाई दरबन्दीमा रुपान्तरण गर्ने ,माध्यमिक द्वितीय श्रेणीमा आन्तरिक प्रतिस्पर्धा हुने गरी व्यवस्थापनको प्रक्रियालाई अगाडि बढाउनु पर्ने, जिल्लान्तर शिक्षक सरुवा,मर्यादाक्रम जस्ता विषयहरू उठाएर हिस्टुनले निरन्तर दवावमुलक कार्यक्रम संचालन गर्दै आएको छ।
आफूहरुले संचालन गर्ने यो आन्दोलन पछि पनि राज्यले हिस्टुनका मागहरु सम्बोधन नगरे कक्षा ११ र १२ मा अध्ययन गर्ने विधार्थी र अभिभावकहरुलाइ शुल्क नतिर्न आव्हान गर्ने , शिक्षक सेवा आयोगले लिदै गरेको प्रावी, निमावि, मावि तहका शिक्षकहरुको पदपूर्ति बिज्ञापन विरुद्व कानुनि उपचार खोज्ने, आम शैक्षिक हड्ताल सम्मका कठोर आन्दोलनका कार्यक्रम घोषणा गरिने हिस्टुनका केन्द्रिय अध्यक्ष टिका प्रसाद न्यौपानेले जानकारी दिएका छन्।
विगत लामो समयदेखि समयसमयमा आन्दोलन गर्ने र त्यसलाई शैक्षिक नेतृत्वसंग बसेर वार्ता गर्दै एउटा सहमति र सम्झौतामा आन्दोलनलाई रोक्दै आएका शिक्षकहरुले अब भने राज्यका त्यस्ता आश्वासन र सम्झौतालाई चित्त बुझाउन नसकिने भन्दै आन्दोलनको घोषणा गरेको हिस्टुनले स्पष्ट पारेको छ।
आन्दोलनका कार्यक्रमहरुः
(१) विद्यार्थीहरुको परीक्षाप्रति संवेदनशील हुँदाहुँदै पनि उक्त तहमा कार्यरत शिक्षकहरुको पेशागत समस्या सम्बोधन नभएको अवस्थामा थप दवाव सृजना गर्न मिति २०८० असार १२ गतेदेखि १९ गतेसम्म हाल देशभर भइरहेको कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य नगर्न र नगराउन राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरलाई आवश्यक सहयोगका लागि पत्राचार गर्ने । यदि उत्तरपुस्तिका परीक्षण कार्य स्थगित नगरेमा यसबाट उत्पन्न असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर र नेपाल सरकार हुने ।
२) विद्यालयको गुणस्तरीय शिक्षा एवम् विद्यालयमा शिक्षक व्यवस्थान सम्वन्धमा मिति २०८० असार १६ गते शनिवार पत्रकारहरु, मिडियाकर्मीहरु, विद्यार्थी संगठनका नेतृत्वहरु, सांसदहरु ल्गायत सबैसँग अन्तरक्रियात्मक कार्यक्रम विजय स्मारक मा.वि. डिल्लीबजार, काठमाडौं को मल्टिमिडिया हलमा दिनको ठीक २ः०० बजे गर्ने ।
३) मिति २०८० असार १७ गते शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा आफ्ना मागहरु राख्दै देशभरका शिक्षकहरुले प्लेकार्डसहित घेराउ गर्ने । साथै पुनः ध्यानाकर्षण पत्र बुझाउने ।
(४) मिति २०८० असार १८ गते माइतीघर मण्डलामा देशभरका शिक्षकहरुले प्लेकार्डसहित दिनको १ बजेदेखि ३ बजेसम्म प्रर्दशन गर्ने ।
५) नेपालको संविधान २०७२ ले निःशुल्क माध्यमिक शिक्षाको व्यवस्था गरेकोले देशभर सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा कुनै पनि शुल्क उठाउन तत्काल बन्द गरिनुपर्ने । सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा यसै वर्षदेखि देशभरका विद्यार्थी एवम् अभिभावकहरुलाई मासिक रुपमा कुनै पनि शुल्क नतिर्न आव्हान गर्ने । साथै हिस्टुनले विद्यालयहरुलाई शुल्क नलिन दबाब सिर्जना गर्ने ।
६) साविक उ.मा.वि शिक्षकहरुको पेशागत सुरक्षा र स्थायित्व नभइरहेको अवस्थामा शिक्षक सेवा आयोगबाट भइरहेको विद्यालयको प्रा.वि., नि.मा.वि. र मा.वि. (कक्षा १० सम्म) शिक्षकहरुको पदपूर्ति विज्ञापनको विरुद्धमा तत्काल कानुनी उपचार खोज्ने ।
यी उल्लेखित कार्यक्रमहरु अगाडि बढाउदै जादासम्म पनि राज्य सम्बेदनशील नबनेमा २०८० असार १८ गते दिनको ठीक ४ः०० बजे केन्द्रीय समितिको बैठक बसी दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने पत्रकार सम्मेलन मार्फत हिस्टुनका केन्द्रिय महासचिव शंकर तिवारीले जानकारी दिएका छन् ।