काठमाण्डौं । नेपाली बजारमा छुट्टै स्थान बनाएको केल्मी ब्राण्डले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने उक्त अवार्डलाई सफल पार्न केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
प्रा.लि.का म्यानेजिङ डाईरेक्टर उत्तम न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले बताए । प्रा.लि.ले मञ्चलाई उक्त अवार्ड सफल पार्न करिब एक लाख ५० हजार बराबरको सहयोग गर्ने भएको हो ।
नेपालकै लोकपृय व्राण्ड केन्मीले मञ्चको उक्त अवार्डलाई सफल पार्न सहयोग गरेकोमा मञ्चका अध्यक्ष बरालले आफ्नो क्षेत्रबाट उक्त ब्राण्डको प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । मञ्च गण्डकीले हरेक बर्षजसो उक्त अवार्ड गरेकोले पहिलो पटक सहकार्य गर्ने अवसरमा दिएकोमा प्रा.लि.का म्यानेजिङ डाईरेक्टर न्यौपानेले धन्यवाद दिदै आगामी दिनमा पुनः सहकार्य गर्ने वचन दिए । केल्मी ब्राण्डले नेपाली क्रिकेट, फुटवल, भलिवल, गल्फ लगायतका खेलहरुसंग समेत सहकार्य गर्दै आएको न्यौपानेले बताए ।
मञ्चका अध्यक्ष बराल सहित सचिव शशिकुमार पौडेल सहितको टोली उक्त अवार्ड सफल पार्न पूर्व तयारी स्वरुप काठमाण्डौं जाने क्रममा केल्मी सहित राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत सहयोग गर्ने भएको हो ।
सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर ग्रुप अफ पोखरा नेपालले तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा मञ्चले तयारीलाई तिव्रता दिएको छ ।