राजु गिरी, पोखरा । क्षयरोग अर्थात यसलाई टिबि पनि भन्ने गरिन्छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस (Mycobacterium Tuberculosis) नामक आँखाले देख्न नसकिने किटाणुबाट लाग्ने सरुवा रोग हो ।
पछिल्लो समय नेपालको डाटा हेर्ने हो भने क्षयरोग भयावह स्थितिमा वृद्धि भएको देखिन्छ । एक जना बिरामीले १० देखि १५ जनालाई सार्न सक्ने यो क्षयरोग नेपालको आधा जनसंख्यामा संक्रमण भएको अनुमान गरिएको छ । प्रत्येक वर्ष नेपालमा करिब १७ हजार जनाको मृत्युको कारण क्षयरोग रहेको तथ्यांकले देखाएको छ । यसलाई बेलैमा रोकथाम गरिएन भने देश स्वास्थ्य संकटमा जाने विज्ञहरुले बताउँदै आएका छन् ।
क्षयरोगका विरामीले खोक्दा वा हाँच्छ्यु गर्दा खकारमा भएका क्षयरोगका किटाणुहरु बाहिर हावामा निस्कन्छन र श्वासप्रश्वासको माध्यमबाट स्वस्थ मानिसको फोक्सो भित्र प्रवेश गरेर यो रोग लाग्दछ । क्षयरोग २ प्रकारको हुने गर्दछ, एउटा फोक्सोमा लाग्ने क्षयरोग र अर्को फोक्सो बाहेक शरीरको अन्य भागमा लाग्ने क्षयरोग । यसमध्ये फोक्सोमा हुने क्षयरोग प्राय हुने गर्दछ ।
क्षयरोग भएको छ भने विभिन्न लक्षणहरु देखा पर्ने गर्दछन् । २ हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लाग्नु क्षयरोगको मुख्य कारण हो । त्यसबाहेक साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घट्नु, कमजोर हुदै जानु, खकारमा रगत देखिनु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु जस्ता लक्षण देखा पर्दछन् ।
यस्तो लक्षण देखा परेमा तुरुन्त क्षयरोगको चेकजाँच गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । साथै क्षयरोगको औषधी सबै सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क पाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार खकार परिक्षण नै क्षयरोग पत्ता लगाउने उत्तम उपाय रहेको र जिन एक्सर्प प्रविधिबाट २ घण्टामै क्षयरोग भए नभएको एकिन गर्न सकिनेछ ।
गण्डकी प्रदेशमा जिन एक्सपर्ट मेसिन क्षयरोग उपचार केन्द्र पोखरा, मणिपाल शिक्षण अस्पताल पोखरा, दमौली अस्पताल तनहुँ, गह्रौ प्राथमिक अस्पताल स्याङजा, मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी, धौलागिरी अस्पताल बागलुङ, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की र गोरखा अस्पताल गोरखा गरि ८ अस्पतालमा उपलब्ध रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
क्षयरोगलाई भयावह स्थितिमा आउन नदिन र यसलाई रोक्न विभिन्न उपायहरु अपनाउनु पर्ने चिकित्सक सुझाउछन् । यसको रोकथामका लागि क्षयरोगको छिटो भन्दा छिटो पहिचान गरि उपचार शुरु गर्ने, विरामीले नियमित र पुरा मात्रामा औषधी सेवन गर्ने, क्षयरोगका विरामीको सम्पर्कमा रहेका सबै व्यक्तिहरुको खकार परिक्षण गर्ने, बच्चा जन्मना साथ बिसिजी खोप लगाउने, क्षयरोग बिरामीले खोक्दा वा हाँच्छ्यु गर्दा मुख छोप्ने वा मास्क प्रयोग गर्ने, धुलो धुवा ध्रुम्रपान मद्दपान र भिडभाडबाट टाढा रहनुपर्छ ।
गण्डकी प्रदेशमा पनि क्षयरोग संक्रमण दर बढ्दै गएको सेभ द चिल्ड्रेन पोखराका क्षयरोग कोअर्डिनेटर राजेश कुमार यादवले पत्रकारसँगको अन्तरक्रियामा बताए । उनका अनुसार गण्डकीमा पछिल्लो ८ महिना (साउनदेखि फागुन) मा १२५६ जना क्षयरोगको नयाँ संक्रमित देखिए भने सोही अवधिमा कास्कीमा ३०६ जनामा देखियो । स्वास्थ्य चेकजाँचको लागि आएर क्षयरोग यकिन भैसकेपछि सम्पर्कमा नआउनाले पनि रोकथाममा कठिन भैरहेको यादवको भनाई छ ।
पत्रकारसँगको अन्तरक्रियामा क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक अरुण कुमार झा, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराज आचार्य, जनस्वास्थ्य अधिकृत रबिना कुमारी ठगुन्नालगाएतले क्षयरोग रोकथाम तथा अन्त्यका लागि सबैमा जानकारी पुग्न र सचेतना जगाउनु आवश्यक रहेको औल्याए ।
मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइरहदा क्षयरोगको अवस्थाको बारेमा जानकारी दिन चैत ९ गते बिहीबार स्वास्थ्य निर्देशनालय गण्डकी, स्वास्थ्य कार्यालय कास्की र क्षयरोग उपचार केन्द्रको संयुक्त आयोजनामा पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
(माथीको डाटा तथा जानकारी स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट लिइएको हो ।)