अन्नपूर्णका विद्यार्थीलाई कोरियाको छात्रवृत्ति

 

अन्नपूर्ण ड्रोइङ ड्रिम टिम (एडिडिटी) का तीन जना विद्यार्थीलाई कोरियन कलाकार कु ह्युम किमले उच्चशिक्षाका लागि छात्रवृत्ति प्रदान गरेका छन् ।

ड्रिम टिमका सविता परियार, विशाल चपाई र प्रदीप आचार्यले स्नातक तहको भर्ना, शैक्षिक शुल्क र पाठ्यसामाग्रीका लागि जनही ४५ हजार नगद रकम एकमुष्ठ प्राप्त गरेका छन् ।

पृथ्वीनारायाण क्याम्पसमा अङ्गे्रजी र गणित विषयमा स्नातक तह शिक्षा शास्त्र सङ्कायमा अध्ययनरत सविता परियारले गतवर्ष आर्थिक अभावका कारण पढाइ अगाडि बढाउन पाएकी थिइनन् । यस वर्ष कोरियन कलाकार किमले छात्रवृत्ति उपलब्ध गराएपछि आफ्नो पढाइको सपना पूरा हुने विश्वास गरेकी छन् । परियारले बीरेठाँटी माविबाट १२ कक्षा उत्तीर्ण गरेकी हुन् । ६ वर्ष पहिले आफू ७ कक्षामा पढ्दा कलाकार किमले कला शिक्षकको रूपमा अन्नपूर्ण ड्रोइङ टिममा समावेश गरेको क्षण सम्झदै भनिन ‘किम सरले हामीलाई बाबाआमाले भन्दा बढी माया गरेर लेखपढमा सहयोग गरेका छन् ।

जनप्रिय बहुमुखी क्याम्पस पोखरामा स्नातक तह शिक्षा शास्त्र सङ्काय प्रथम वर्षमा अध्ययनरत विशाल चपाइले जनप्रिय माविबाट १२ कक्षा पास गरेका हुन् । अङ्ग्रेजी र स्वास्थ्य विज्ञान मूल विषय राखेका चपाईले बीरेठाँटीमा किमलाई भेट्नु नै हाम्रो भाग्य चम्किएको बताए । पढाइसँगै कलाकारितालाई पनि अगाडि बढाएका चपाईले कोरियन कलाकार किमको सहयोग हाम्रा लागि उपहार भएको जनाए ।

छात्रवृत्रि पाउने प्रदीप आचार्य अन्नपूर्ण बहुप्राविधिक शिक्षालय ढिकुरपोखरीमा कृषि बाली विज्ञानको ३ वर्षे डिप्लोमा पढिरहेका छन् । बीरेठाँटीमा ६ कक्षा पढ्दा उनी पनि कला समूहमा आवद्ध भएका थिए । किम हाम्रो लागि अभिभावक र सहयोगी साथी दुवै हुन् । छात्रवृत्तिसँगै पेन्टिङ गर्ने सामाग्री पनि किमले कोरियाबाट प्रदान गरिरहेको आचार्यले बताए ।

 

कोरियन कलाकार कु ह्युम किमले कला समूहमा आवद्ध आफ्ना विद्यार्थीलाई उच्चशिक्षाको डिग्री तहसम्म छात्रवृत्ति उपलब्ध गराउन प्रतिवद्ध रहेको जनाए । ‘यो मेरो एकल प्रयास होइन विद्यार्थीलाई पढाउनका लागि दोङगुक विश्वविद्यालयका प्राध्यापक लि ह्वाङ, बुलकिम र काङ सुसीको सहयोग छ, मैले त सूत्रधारको काम मात्रै गरेको हो ।’ कोरोना कहरका कारण उनीहरू नेपाल आउन नपाए पनि नेपाली विद्यार्थीप्रतिको सद्भाव राखिरहेको बताए । अर्को वर्ष विद्यालयका अभिभावकलाई बाख्रा वितरण र विद्यार्थीलाई युनिफर्म एमव् शैक्षिक सामाग्री उपलब्ध गराउन कोरियन नागरिक प्रतिवद्ध रहेका छन् ।

कु ह्युम किम आफै कोरियाका प्रसिद्ध लेखक, कलाकार र प्राध्यापक हुन् । १७ वटा पुस्तक मध्ये ‘नमस्ते किम सर’ र ‘नेपाली जात्रा’ नेपाल सम्बन्धी पुस्तकहरू प्रकाशित छन् । अन्नपूर्ण गाउँपालिकाका बिरेठाँटी, सुदामे र तिखेढुंगाका विद्यालयमा ‘खसीले मसी’ अभियान सुरु गरेका किमले अन्नपूर्ण ड्रोइङ टिममा १८ जना विद्यार्थीलाई कलाकारिता सिकाइरहेका छन् ।

गत वर्ष किमले ‘कोरोनो महामारी अन्त्यका लागि प्रार्थना’ विषयक १८ जना विद्यार्थीका १ सय चित्रकला पोखरामा प्रदर्शनी गरेका थिए । उनले विद्यार्थीहरूलाई सुदामेदेखि लुम्बिनीसम्म, बीरेठाँटीदेखि बोधगया, कास्की टु कोरिया लगायतका स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय कला यात्रामा समावेश गरेका छन् । एजेन्सी

 

कमेन्टहरु
Loading...