पहिरोपीडित डेढ वर्षदेखि टहरामै, सरकार आश्वासन मात्रै दिन्छ

लमजुङ l लमजुङको मर्स्याङ्दी गाउँपालिका- ३ पल्लोटारीका पहिरापीडित डेढ वर्षदेखि टहरामै बस्न बाध्य छन्। पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन् ।

७ र ८ साउन ०७७ मा पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो । ५४ घर उच्च जोखिममा परे। गाउँका चार सयजना एकैपटक विस्थापित भएका थिए । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरी उनीहरूलाई तरापुको देवीथानमा राखिएको थियो ।
पटकपटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । डेढ वर्ष बित्यो । तर, पीडितको नयाँ घरमा बस्ने सपना अझै पूरा भएको छैन।

पहिरोपीडित जमुना अधिकारीले भनिन्, ‘हिउँद बित्यो, बर्खा पनि बित्यो। नयाँ घर बनाउन एक साता अगाडिमात्र सम्झौता भएको छ । यो जाडो पनि टहरामै बित्ने भयो ।’

सरकारका प्रतिनिधिका आश्वासनले पीडितले घरको जग खन्न सुरु गरे । कसैले डिपिसी ढलानसमेत गरे । तर, अनुदानका लागि सम्झौतासमेत नभएपछि पीडितहरू बर्खामा समेत त्रिपालमुनि बस्न बाध्य भए । मर्स्याङ्दी गाउँपालिका- ३ का वडाध्यक्ष प्रेम बस्नेतले पहिरोपीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भइसकेको बताए। देशविदेशबाट संकलन भएको चन्दा रकमबाट जग्गा व्यवस्थापन गरिएको उनको भनाइ छ ।

उनका अनुसार पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालू आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरोपीडितसँग घर पुनर्निर्माणका १८ वटा घर सूचीकृतमा परेकाे जानकारी दिए । घर बनाउन लाभग्राहीले चार लाख ५० हजार रुपैयाँका दरले पाउनेछन्। यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ । पुनर्निर्माणका लागि अनुदान व्यवस्थासहितको कार्यविधि स्वीकृत भएर आएकाले घर पुनर्निर्माण कार्य छिट्टै अघि बढ्ने अध्यक्ष गुरुङले बताए ।

कमेन्टहरु
Loading...